
रौतहट, ०१ साउन। लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर देखिएको अन्योल र विवाद अन्त्य गर्दै रौतहटको गरुडा नगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ।
उपसचिव नाथु साहले आजदेखि गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।
नगर प्रमुख कन्थमणि प्रसाद जयसवाल लगायत जनप्रतिनिधिहरूले साहलाई नगरपालिकामा स्वागत गरेका हुन ।
नगर प्रमुख कन्थमनि प्रसाद जयस्वालले नयाँ प्रमुख प्रशासकिय अधिकृत नाथु साहलाई आज कार्यालयमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका छन ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि शंकर प्रसाद आचार्य तथा सरोकारवालाको समेत उपस्थिति रहेको थियो।
यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका नीलम कुमार न्यौपाने को अन्यत्र सरुवा भएपछि उपसचिव नाथु साह गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भई आजबाट जिम्मेवारी सम्हाल्नुभएको हो।
नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै नगरपालिकाको सेवा प्रवाह थप प्रभावकारी, पारदर्शी र जनमुखी बन्ने अपेक्षा गरिएको छ।
