ट्रेडमार्क दुरुपयोग प्रकरण : पक्राउ परेका उद्योगीलाई अस्पतालमा विशेष सुविधा दिएको आरोप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ६, बुधबार (१५ घण्टा अघि)
  • ५४ पटक पढिएको
ट्रेडमार्क दुरुपयोग प्रकरण : पक्राउ परेका उद्योगीलाई अस्पतालमा विशेष सुविधा दिएको आरोप

वीरगञ्ज, ०६ साउन। मार्बल कम्पनीको नाम र लोगो प्रयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा पक्राउ परेका जानकी प्लाष्टिक उद्योगका सञ्चालक नवल मुरारका (नवकृष्ण मुरारका) लाई प्रहरीले विशेष संरक्षण दिएको आरोप सार्वजनिक भएको छ। हिरासतमा राख्नुपर्ने अवस्थामा उनलाई अस्पतालमा विशेष सुविधा उपलब्ध गराइएको भन्दै प्रहरीको भूमिकामाथि प्रश्न उठाइएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले अनुसन्धानका क्रममा मुरारकालाई नियन्त्रणमा लिएपछि जिल्ला अदालत सिरहाबाट सात दिनको म्याद लिएको थियो। तर पक्राउ परेको भोलिपल्ट नै उनलाई प्रादेशिक अस्पताल सिरहामा भर्ना गरी विशेष सुविधा उपलब्ध गराइएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्तासमेत रहेका डीएसपी रमेशबहादुर पालले मुरारका अझै अस्पतालमै रहेको पुष्टि गरेका छन्। यद्यपि अस्पतालका चिकित्सकहरूले उनलाई भर्ना गर्नुपर्ने कुनै गम्भीर स्वास्थ्य अवस्था नरहेको जनाएको स्रोतको दाबी छ। अस्पतालमा राख्न आर्थिक चलखेल भएको तथा उनका आफन्त रहेका एक चिकित्सकमार्फत विशेष सुविधा मिलाइएको आरोपसमेत लागेको छ।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार मुरारकाले विगत तीन वर्षभन्दा बढी समयदेखि चर्चित मार्बल कम्पनीको ट्रेडमार्क तथा लोगो दुरुपयोग गर्दै नक्कली बोरवेल पाइप उत्पादन गरी बजारमा बिक्री गर्दै आएका थिए। जानकी पाइप उद्योगले कवाड प्लाष्टिक प्रयोग गरेर पाइप उत्पादन गर्दै प्रतिष्ठित कम्पनीको नाम र लोगो प्रयोग गरी महँगो मूल्यमा बिक्री गरेको आरोप छ।

यसअघि प्रहरीले जानकी पाइप उद्योगबाट मार्बल कम्पनीको नाममा उत्पादन गरिएका ठूलो परिमाणका नक्कली बोरवेल पाइप बरामद गरेको थियो। सिरहाको गोलबजारस्थित नेहाल हार्डवेयरबाट यस्ता पाइप फेला परेपछि अनुसन्धान विस्तार गर्दै प्रहरीले उद्योग सञ्चालक मुरारकालाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानकै क्रममा प्रहरीले जानकी पाइप उद्योगमा छापा मारे पनि वडा प्रहरी कार्यालय मुजेलियाको संरक्षणमा अधिकांश पाइप अन्यत्र सारिएको आरोप लगाइएको छ। स्रोतका अनुसार उद्योगले मार्बल कम्पनी मात्र नभई अन्य कम्पनीका नाममा समेत नक्कली बोरवेल पाइप उत्पादन गर्दै आएको खुलेको छ।

नक्कली पाइप उद्योग सञ्चालक मुरारकाको स्वामित्वमा रहेको ज्ञानदा स्कुल नजिकै गुड्डु गोयन्काको रियल इँटा उद्योग परिसरमा लुकाइएको दाबी गरिएको छ। उक्त स्थान वडा प्रहरी कार्यालय मुजेलिया र लक्ष्मीनिया प्रहरी चौकीबाट नजिकै रहे पनि सूचना प्राप्त भएको तीन दिन बितिसक्दा समेत प्रहरीले बरामद गर्न नसकेको आरोप पीडित पक्षले लगाएको छ।

मार्बल कम्पनीका प्रतिनिधिहरूले नक्कली पाइप उत्पादन र ओसारपसारबारे प्रहरीलाई समयमै जानकारी गराइएको भए पनि प्रभावकारी कारबाही नभएको गुनासो गरेका छन्। उनीहरूले उद्योग सञ्चालकलाई संरक्षण गरिएको आशंका व्यक्त गर्दै घटनाको निष्पक्ष अनुसन्धान र संलग्न सबैमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस