
वीरगञ्ज, ०६ साउन। फेसबुक र मेसेन्जरमार्फत वैदेशिक रोजगारीमा रहेका व्यक्तिको नाम दुरुपयोग गरी २ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बारा फेटा गाउँपालिका–४ घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा बस्दै आएका ४९ वर्षीय शिवपुजन बैठालाई फेसबुक र मेसेन्जरमार्फत ठगी गरिएको उजुरीपछि अनुसन्धान थालिएको हो।
प्रहरीका अनुसार रौतहट घर बताउने तथा हाल वैदेशिक रोजगारीका सिलसिलामा लन्डनमा रहेका संजय पटेलको फोटो प्रयोग गरी नक्कली फेसबुक अकाउन्ट र मेसेन्जर आईडी बनाइएको थियो। उक्त नक्कली अकाउन्टबाट ‘म समस्यामा छु’ भन्दै विभिन्न बहाना बनाई शिवपुजन बैठाबाट २ लाख ५० हजार रुपैयाँ ठगी गरिएको आरोप छ।
उजुरी प्राप्त भएपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारेर बैंक खाता खोलाउने, अन्य व्यक्तिको नाममा बैंक खाता तथा सिमकार्ड सञ्चालन गरी अनलाइन ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–१ निवासी २० वर्षीय जस्मुदिन अन्सारी र पर्साको बहुदरमाई नगरपालिका–१ निवासी २० वर्षीय विशाल पटेल रहेका छन्।
उनीहरूलाई साउन २ गते वीरगञ्ज महानगरपालिका–८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
दुवै जनाविरुद्ध ठगी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
