वीरगञ्जमा आन्दोलन चर्कियो, सबै वडा अनिश्चितकालीन बन्द

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १४, बिहिबार (२ घण्टा अघि)
  • ३९ पटक पढिएको
वीरगञ्जमा आन्दोलन चर्कियो, सबै वडा अनिश्चितकालीन बन्द

वीरगञ्ज, १४ साउन। वडाध्यक्ष पक्राउको विरोधमा वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडा कार्यालयहरु अनिश्चिकालिन बन्द भएको छ ।

प्राप्त जानकारी अनुसार वीरगञ्ज महानगरपालिका २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरे को विरोधमा वडा कार्यालयको कामकारबाही अनिश्चितकालका लागि बन्द गरिएको हो । वडाध्यक्षहरूले सामूहिक रूपमा विरोध जनाउँदै साउन १३ गतेदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गर्दै कामकारवाही बन्द गरेका हुन् ।

यस निर्णयसँगै महानगरका वडाबाट प्रदान हुँदै आएका सिफारिस, दर्तालगायतका दैनिक प्रशासनिक काम प्रभावित भएको छ । गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगञ्ज–२५ निवासी राजकुमार कुर्मीको मृत्यु भएपछि घटना विवादमा आएको थियो । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवार तथा आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका थिए ।

उक्त घटनाको समाधानका लागि पीडित परिवार र प्रशासनबीच सहजीकरण गर्ने क्रममा वडाध्यक्ष चतुर्वेदीले राखेको भनिएको धारणा आधार बनाएर स्थानीय प्रहरीले उनलाई महानगरपालिका कार्यालय परिसरबाटै बिना कारण पक्राउ गरेको वडाध्यक्षहरूको आरो प छ । नगरवासीको हकहितका विषयमा आवाज उठाउने जनप्रतिनिधिमाथि नै प्रहरीले धरपकड गरेको भन्दै महानगरका सम्पूर्ण वडाध्यक्षहरूले आपत्ति जनाएका छन् ।

यसअघि साउन १२ गते संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले वडाध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा गर्न स्थानीय प्रशासनसमक्ष माग गरेका थिए । तर जनप्रतिनिधिहरूको ध्यानाकर्षणपछि पनि प्रशासनले वडाध्यक्षलाई रिहा नगरेपछि बाध्य भएर सेवा बन्द गर्ने निर्णय लिनुपरेको वडाध्यक्षहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले पक्राउ परेका वडाध्यक्ष चतुर्वेदीलाई तत्काल सम्मानपूर्वक रिहा नगरिए थप कडा विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।

आन्दोलनबाट उत्पन्न हुने कुनै पनि असहज परिस्थितिको जिम्मे वारी स्थानीय प्रशासनले लिनुपर्ने वडाध्यक्षहरुको भनाई छ । यसैबीच, वडा कार्यालय बन्द हुँदा सेवाग्राही प्रभावित भएका छन्। यद्यपि अत्यावश्यक सेवाहरू भने सञ्चालनमा रहने जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस