बढ्दो तनावपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु घोषणा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १५, शुक्रबार (१ महिना अघि)
  • ६७ पटक पढिएको
बढ्दो तनावपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु घोषणा

राजविराज , १५ साउन। आन्दोलनका कारण शान्ति–सुरक्षाको अवस्था प्रभावित हुन सक्ने विश्लेषणपछि सप्तरीको राजविराज क्षेत्रमा पनि शुक्रबार बिहानदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।

शुक्रबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै बिहान ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गर्ने निर्णय गरेको हो।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार पूर्वतर्फ खाँडो खोलादेखि पश्चिममा हुलाकी राजमार्गस्थित जमुनी थलहीसम्म, उत्तरतर्फ रुपनी रोडको बसबिट्टी चोकदेखि दक्षिणमा कोशी पश्चिमी मूल नहरसम्मको चारकिल्ला क्षेत्रभित्र कर्फ्यु आदेश लागू गरिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको उक्त आदेश अर्को सूचना जारी नभएसम्म कायम रहने जनाइएको छ। कर्फ्यु आदेशको उल्लङ्घन गरी कुनै पनि गतिविधि गरे वा गराएको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी थापाले चेतावनी दिएका छन्।

यसअघि पनि सप्तरीको बोदे बरसाइन नगरपालिकामा बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरिएको थियो। उक्त आदेशअन्तर्गत पूर्वतर्फ हुलाकी राजमार्गको खडक पुलदेखि पश्चिममा पृतमपुर चोकसम्म तथा उत्तरतर्फ नेंगडा चोकदेखि दक्षिणमा मानराजा चोकसम्मको क्षेत्रलाई कर्फ्यु क्षेत्र घोषणा गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय बासिन्दालाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न प्रशासन र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस