१३ बुँदे सहमतिपछि जनकपुरको आन्दोलन स्थगित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १७, आईतबार (१ महिना अघि)
  • ९२ पटक पढिएको
१३ बुँदे सहमतिपछि जनकपुरको आन्दोलन स्थगित

वीरगञ्ज, १७ साउन। जनकपुरमा गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत हिन्दु धार्मिक मोर्चाबीच भएको दुई चरणको वार्तापछि १३ बुँदे मागमा सहमति जुटेको छ। सहमतिसँगै आन्दोलनरत पक्षले आफ्नो आन्दोलन स्थगित गर्ने जनाएको छ।

सुनसरीको देवानगञ्ज घटनाको विरोध गर्दै विभिन्न १३ बुँदे मागसहित आन्दोलनमा उत्रिएको हिन्दु धार्मिक मोर्चासँग वार्ता गर्न गृहमन्त्री गुरुङ शनिबार जनकपुर पुगेका थिए। गृहमन्त्री नेतृत्वको सरकारी टोली र आन्दोलनरत पक्षबीच भएको छलफलपछि दुवै पक्ष सहमतिमा पुगेका हुन्।

जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता भूदेव झाले वार्ता सफल भएको र दुवै पक्षबीच सहमति कायम भएको जानकारी दिए। उनका अनुसार आन्दोलनरत पक्षले सरकारसमक्ष १३ बुँदे मागपत्र पेश गरेको थियो।

सहमतिअनुसार आन्दोलनरत पक्षले उठाएका १२ वटा माग तत्काल कार्यान्वयनको प्रक्रियामा लैजान सरकारले गृहकार्य अघि बढाउने भएको छ। यस्तै, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागका विषयमा थप अध्ययन, छलफल र आवश्यक प्रक्रिया अघि बढाउन सरकारले तीन महिनाको समय मागेको थियो, जसमा आन्दोलनरत पक्षले पनि सहमति जनाएको छ।

वार्तामा जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोज साह, धनुषाका प्रतिनिधिसभा सदस्यहरू, मधेस प्रदेश सरकारका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको थियो। आन्दोलनरत पक्षका तर्फबाट विभिन्न एक दर्जनभन्दा बढी धार्मिक तथा सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।

यसअघि सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा आन्दोलनरत युवाहरूले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका थिए। शनिबार जनकपुरमा आयोजित सर्वपक्षीय सद्भाव र्‍यालीका क्रममा पनि उनीहरूले कार्यक्रमस्थलमै चर्को नाराबाजी गरेका थिए। त्यसपछि धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मनिष झाले आन्दोलनरत पक्षसँग छलफल सुरु गरेका थिए, जसले पछि औपचारिक वार्ताको रूप लिएको थियो।

सरकार र आन्दोलनरत पक्षबीच सहमति जुटेसँगै जनकपुरसहित मधेस प्रदेशमा पछिल्ला केही दिनदेखि देखिएको तनावपूर्ण अवस्था सामान्य बन्दै जाने अपेक्षा गरिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस