
वीरगञ्ज , १९ साउन। पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव मृत्यु भएको १३ दिन बितिसक्दा पनि नारायणी अस्पतालको शवगृहमा राखिएको छ। पोस्टमार्टम रिपोर्टप्रति असहमति जनाउँदै माइती पक्षले शव बुझ्न अस्वीकार गरेपछि शव अस्पतालमै राखिएको हो।
ठोरी गाउँपालिका–३ रामनगर माइती भएकी दुई सन्तानकी आमा लक्ष्मी साउन ६ गते बिहान आफ्नै घर नजिकै रहेको गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनापछि माइती पक्षले सुरुदेखि नै यो आत्महत्या नभई योजनाबद्ध हत्या गरेर आत्महत्याको रूप दिन खोजिएको आरोप लगाउँदै आएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नारायणी अस्पतालबाट प्राप्त पोस्टमार्टम रिपोर्टमा लक्ष्मीको मृत्यु पासो लगाएर आत्महत्या गरेको उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले पोस्टमार्टम रिपोर्टमा हत्या नभई आत्महत्याबाट मृत्यु भएको निष्कर्ष आएको जानकारी दिए।
तर सोमबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत मृतकका माइती पक्षले उक्त रिपोर्टप्रति गम्भीर असहमति जनाएका छन्। उनीहरूले पोस्टमार्टम रिपोर्ट वास्तविक घटनासँग मेल नखाने दाबी गर्दै लक्ष्मीलाई कुटपिट गरी हत्या गरिएको र त्यसपछि शव झुण्ड्याएर आत्महत्याको स्वरूप दिइएको आरोप लगाएका छन्।
मृतकका मामा इन्द्रबहादुर बस्नेतले लक्ष्मीका पति सुधिर सिलवाल, सासु–ससुरा तथा परिवारका अन्य सदस्यको संलग्नतामा हत्या भएको दाबी गरे। उनका अनुसार घटनास्थलमा फुटेका चुरा, झगडा भएको कोठाबाहिर रगतका दाग तथा अन्य शंकास्पद प्रमाण भेटिएकाले घटनालाई आत्महत्या भन्न नमिल्ने अवस्था रहेको बताए।
माइती पक्षले घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गरी मृत्युको वास्तविक कारण सार्वजनिक गर्नुपर्ने, दोषीलाई कानुनी कारबाही नभएसम्म शव नबुझ्ने अडान दोहोर्याएका छन्।
यसअघि साउन ११ गते पनि माइती पक्ष, आफन्त तथा स्थानीयवासीले ठोरीबाट वीरगञ्ज आएर प्रदर्शन गरेका थिए। उनीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।
उता प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। प्रहरीका अनुसार घटनाकै दिन मृतकका पति सुधिर सिलवाललाई नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। सासु र ससुरालाई पनि नियन्त्रणमा लिइएको भए पनि वृद्ध अवस्थाका कारण मृतकका आफन्तको सहमतिमा उनीहरूलाई तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ।
मृतकका माइती पक्षका अनुसार सुधिर सिलवाल नेपाली सेनाका अवकाशप्राप्त कर्मचारी हुन्। उनीमाथि लागू पदार्थ सेवन गर्ने, परिवारमा पटक–पटक विवाद सिर्जना गर्ने तथा श्रीमतीमाथि कुटपिट गर्ने गरेको आरोप समेत लगाइएको छ। प्रहरीले भने ती आरोपबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ।
यस घटनाले पर्सा जिल्लामा व्यापक चासो र बहस सिर्जना गरेको छ। एकातर्फ पोस्टमार्टम रिपोर्टले आत्महत्या भएको निष्कर्ष निकालेको छ भने अर्कोतर्फ माइती पक्षले हत्या भएको दाबी गर्दै पुनः छानबिनको माग गरिरहेको छ। घटनाको वास्तविकता सार्वजनिक हुने अपेक्षासहित अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको प्रहरीले जनाएको छ।
