गोलबजार घटनाको छानबिनमा उच्चस्तरीय समिति, स्थानीयसँग छलफल सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १९, मंगलबार (११ घण्टा अघि)
  • ६३ पटक पढिएको
गोलबजार घटनाको छानबिनमा उच्चस्तरीय समिति, स्थानीयसँग छलफल सुरु

सिरहा, १९ साउन। सुनसरीको कप्तानगञ्ज घटनापछि भड्किएको तनावको ठूलो प्रभाव सिरहाको गोलबजारमा परेको थियो । गोलबजारमा प्रहरीको गोली समेत चल्यो ।

प्रहरीको गोलीबाट सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको ज्यान गएको थियो ।

गणेशको मृत्यु भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले सहसचिव पुष्पराज शाहीको नेतृत्वमो उच्चस्तरीय समिति गठन गरेको थियो ।

सो समिति गोलबजार पुगेर अध्ययन थालेको छ । समितिले घटनास्थलको अवलोकन, आवश्यक तथ्य तथा प्रमाण संकलन र सरोकारवालासँग छलफल गर्दै छानबिन प्रक्रिया अघि बढाएको छ ।

छानबिन समितिले सोमबार गोलबजारमा भएका घटनास्थलहरूको अनुगमन गरेको थियो । त्यसपछि मंगलबार बिहान गोलबजार नगरपालिकामा सर्वदलीय बैठक बसेर घटनाबारे जानकारी लिएको छ ।

यसैगरी, दोस्रो चरणमा उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहसहितका व्यवसायीहरूसँग बैठक बसेर आन्दोलनका क्रममा भएको क्षति, घटनाको पृष्ठभूमि तथा व्यवसायीका गुनासाबारे जानकारी लिएको समितिले जनाएको छ ।

समितिले तेस्रो चरणमा मुस्लिम समुदायका प्रतिनिधिहरूसँग छुट्टै बैठक गरी घटनाको कारण, प्रभाव र सामाजिक सद्भाव कायम गर्ने उपायबारे छलफल गरेको गोलबजार नगरपालिकाकाका प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए ।

समितिका संयोजक सहसचिव शाहीले सुनसरीमा सुरु भएको घटनाको प्रभाव सिरहाको गोलबजारसम्म कसरी फैलियो ? आन्दोलनका क्रममा गोली चल्नुपर्ने अवस्था किन आयो ? र, गणेश यादवको मृत्यु कसरी भयो ? भन्ने विषयलाई केन्द्रमा राखेर छानबिन भइरहेको बताए ।

उनले पहिलो प्राथमिकता गोलीकाण्डको सत्यतथ्य उजागर गर्दै र घटनाको सम्पूर्ण पृष्ठभूमि अध्ययन गरेर प्रतिवेदन गृहमन्त्रालयमा पेस गरिने जानकारी दिए ।

यस्तै, व्यवसायीको भौतिक संरचना तथा सम्पत्तिमा भएको क्षतिको विवरण स्थानीय प्रशासन र जिल्ला प्रशासन कार्यालयले संकलन गरिरहेको उनले बताए ।

गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष विजय साहले व्यवसायीलाई सुरक्षित वातावरण सिर्जना गर्दै पुरानै अवस्थामा फर्काउने जिम्मेवारी राज्यको भएको बताए ।

उनले दोषी जोसुकै भए पनि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउन माग गरे ।

गोलबजार नगरपालिकाका प्रमुख श्रेष्ठले गोलीकाण्डसँगै आन्दोलनका क्रममा व्यवसायीले बेहोरेको क्षतिको पनि छुट्टै छानबिन गरी राज्यले उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताए ।

यसअघि गृहमन्त्री सुधन गुरुङले मृतक गणेश यादवको घरमा पुगेर परिवारसँग सहमति गर्दै घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस