टिकटकबाट ठगीको जालो, मोबाइल बैंकिङ एपसम्मै पहुँच

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २४, आईतबार (२ घण्टा अघि)
  • ४५ पटक पढिएको
टिकटकबाट ठगीको जालो, मोबाइल बैंकिङ एपसम्मै पहुँच

काठमाडौं, २४ साउन। नवलपरासी (पूर्व) हुप्सेकोटकी नानुमाया विकले साउन ७ गते ‘लक्ष्मी कलेक्सन स्टोर’ नामको टिकटक खातामार्फत छोरीका लागि एउटा टी-सर्ट र स्कर्ट अर्डर गरिन्। सामानको अग्रिम भुक्तानीस्वरूप ९०० रुपैयाँ पठाउन भन्दै उनलाई भोलिपल्टै सामान घरमै आइपुग्ने आश्वासन दिइयो।

रकम ट्रान्सफर गरेलगत्तै प्राविधिक समस्याका कारण पैसा प्राप्त नभएको दाबी गर्दै स्टोरले विकसँग सात दिनको बैंक स्टेटमेन्ट माग्यो। नसोचिकनै उनले आफ्नो सात दिनको सम्पूर्ण वित्तीय कारोबार देखिने स्टेटमेन्ट पठाइदिइन्।

त्यसपछि स्टोरले पुनः फोन गरी रिमार्क्स र रकम राखिने दुवै ठाउँमा एउटा निश्चित कोड डायल गरेर पुनः पैसा पठाउन भन्यो। विकले उनीहरूको निर्देशन पालन गरिन्। त्यसको केही बेरमै उनको बैंक खाताबाट २७ हजार रुपैयाँ गायब भयो। ‘मैले तुरुन्तै फोन गर्ने प्रयास गरेँ, तर उनीहरूले मलाई ब्लक गरिसकेका रहेछन्,’ विकले भनिन्।

घटनाको एक साताछि उनलाई एउटा अज्ञात नम्बरबाट फोन आयो। फोन गर्ने व्यक्तिले आफूलाई प्रहरी अधिकृतका रूपमा परिचय दिँदै भने, ‘तपाईंको पैसा हामीसँग छ। रकम फिर्ता गरिदिन्छौँ, तर त्यसका लागि स्क्रिन सेयर गर्नुपर्छ ।’

उनले त्यसै गरिन्। त्यसपछि फोन गर्ने व्यक्तिले उनलाई कम्तीमा २४ घण्टासम्म मोबाइल बैंकिङ एप नचलाउन निर्देशन दियो।

त्यसको केही समयमै उनको खाताबाट निरन्तर रकम काटिएको म्यासेज आउन थाल्यो। जब उनले मोबाइल बैंकिङ खोल्ने प्रयास गरिन्, एकाउन्ट लग-इन नै भएन। यस पटक ठगहरूले उनको मोबाइल बैंकिङ खातामै पहुँच पुर्‍याइसकेका थिए ।

यस घटनाका सम्बन्धमा विकले प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी छिन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। साथै, सामाजिक सञ्जालका माध्यमबाट हुने यस्ता अनलाइन ठगीका घटनाहरू पछिल्लो समय तीव्र रूपमा बढिरहेको उनले जानकारी दिए।

विक त प्रतिनिधि पात्र मात्र हुन्। काठमाडौँ बौद्धका छिरिङ लिम्जोम लामा पनि सोही स्टोरबाट ठगिएका छन्। लामाकी बहिनीले सोही स्टोरबाट सर्ट र स्कर्ट अर्डर गरेकी थिइन्, तर प्राविधिक समस्या देखाएपछि लामाले बहिनीको सट्टामा भुक्तानी गरिदिएका थिए।

स्टोरले लामालाई पनि सोही शैली अपनाएर ठगी गर्‍यो। उनको खाताबाट कूल ५३ हजार रुपैयाँ झिकियो। तर, विकको जस्तै लामाको मोबाइल बैंकिङ एपमा भने ठगहरूले पहुँच बनाउन सकेका थिएनन्। हालै सो स्टोरले लामालाई पुनः सम्पर्क गरी मोबाइल बैंकिङमा कोड हालेमा पैसा फिर्ता गरिदिने दाबी गरिरहेको छ। पुनः ठगीको प्रयास भएको आशङ्कामा उनले सो कुरा अस्वीकार गरेका छन्।

‘लक्ष्मी कलेक्सन स्टोर’ को टिकटक खातामा ३५ हजारभन्दा बढी फलोअर्स छन्। महिला तथा बालबालिकाका कपडाका भिडियोहरू निरन्तर पोस्ट गरिने भएकाले यो खाता वास्तविक र आधिकारिक पसल जस्तै देखिन्छ। केही भिडियोहरू लाखौँ पटक हेरिएका छन् भने कमेन्ट सेक्सनमा धेरै प्रयोगकर्ताहरूले सामान किन्न चासो देखाएका छन्।

तर, कमेन्टमै वीरेन लामा नाम गरेका एक प्रयोगकर्ताले लेखेका छन्, ‘यी ठग हुन्। यिनीहरूको प्रलोभनमा नपर्नु होला।’

त्यस्तै, क्रिस्चियन गर्ल नामकी अर्की प्रयोगकर्ताले लेखेकी छन्, ‘कृपया कसैले पनि यहाँबाट केही अर्डर नगर्नु होला। यिनीहरूले ठग्छन्। मेरो २८ हजार रुपैयाँ लुटे। यो पेजबाट टाढै रहनु होस्।’

सुरुमा टिकटकमा राखिएको एउटै नम्बरमा ग्राहकले सम्पर्क गरे पनि पछि उनीहरूले फरक-फरक नम्बरबाट कुराकानी गर्ने रणनीति अपनाउने गरेको पाइएको छ।

यी दुई त दृष्टान्त मात्र हुन्। उक्त स्टोरका धेरै भिडियोहरूमुनि दर्जनौँ प्रयोगकर्ताहरूले आफूहरू ठगिएको भन्दै सामान नलिन चेतावनीमूलक कमेन्टहरू छाडेका छन्।

काठमाडौँकी अर्की एक पीडित महिलाले नाम नखुलाउने सर्तमा सोही स्टोरबाट आफू ठगिएको बताइन्। उनलाई पनि ९०० रुपैयाँ अग्रिम भुक्तानी गर्न भनिएको थियो। पैसा पठाएपछि भुक्तानी नआएको भन्दै बैंक स्टेटमेन्ट मागियो। तर उनले पूरै स्टेटमेन्ट नपठाई केवल सोही कारोबार देखिने भाग मात्र पठाइदिइन्।

कागजात पाएपछि बिक्रेताहरूले प्रतिक्रिया दिन छाडे। तर हालै उनीहरूले ह्वाट्सएपमा म्यासेज गरी पुनः भुक्तानी गर्न ताकेता गरिरहेका छन्।

यस विषयमा बुझ्न अनलाइनखबरले टिकटक खातामा राखिएको फोन नम्बरमा सम्पर्क गर्ने प्रयास गरे पनि कुनै प्रतिक्रिया प्राप्त हुन सकेन।

साइबर ब्युरोको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८२/०८३ मा विद्युतीय कसुर (साइबर अपराध) र ठगीसम्बन्धी कूल निवेदन सङ्ख्या बढेर २०,५२६ पुगेको छ । जबकि, आव २०८१/०८२ मा १८,९२६ र आव २०८०/०८१ मा १९,७३० रहेको थियो।

तीन वर्षको अवधिमा दर्ता भएका कूल निवेदनमध्ये विद्युतीय कसुरका मुद्दाहरू नै सबैभन्दा बढी रहेका छन्; जसअनुसार आव २०८०/०८१ मा १५,५७६, आव २०८१/०८२ मा ११,१८६ र आव २०८२/०८३ मा १३,२३० वटा निवेदन परेका थिए।

अर्कोतर्फ, ठगीसम्बन्धी निवेदनहरू आव २०८०/०८१ मा ४,१५४ रहेकोमा आव २०८१/०८२ मा उल्लेख्य रूपमा बढेर ७,७४० पुगेको थियो भने आव २०८२/०८३ मा ७,२९६ वटा दर्ता भएका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिलिप गिरीका अनुसार अग्रिम भुक्तानी (प्रि-पेमेन्ट) गर्नेहरू नै बढी ठगीमा पर्ने गरेका छन्।

‘अनलाइनबाट जुनसुकै सामान अर्डर गर्दा पनि अग्रिम भुक्तानी गर्ने बानी पूर्ण रूपमा त्याग्नुपर्छ,’ एसपी गिरीले भने, ‘सधैँ सामान हात परेपछि मात्र पैसा तिर्ने अर्थात् ‘क्यास अन डेलिभरी’ को प्रणाली अपनाउनु पर्छ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस