माजिद अन्सारीको गिरफ्तारीप्रति जेन जेड मुभमेन्ट एलाइन्सको कडा आपत्ति

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २८, आईतबार (२ हप्ता अघि)
  • ११४ पटक पढिएको
माजिद अन्सारीको गिरफ्तारीप्रति जेन जेड मुभमेन्ट एलाइन्सको कडा आपत्ति

काठमाडौं, २८ असार। ‘जेन जेड मुभमेन्ट एलाइन्स’ले सुकुमवासीलाई राखिएको कीर्तिपुर होल्डिङ सेन्टरमा प्रभावित नागरिकहरूलाई भेट्न गएका युवा तथा स्वयंसेवकमाथि भएको प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ति जनाएको छ ।

एलाइन्सले विज्ञप्ति निकालेर प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ती जनाएको हो । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरुको अवस्था बुझ्न पुगेका एलाइन्सका प्रतिनिधि माजिद अन्सारीलगायतका व्यक्तिहरूमाथि प्रहरीले अभद्र व्यवहार गर्दै कुटपिट गरेको र स्पष्ट कानुनी आधार वा पक्राउ पुर्जीबिना नै नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

नागरिकको अवस्था अनुगमन गर्नु र मानवीय सहयोग पुर्‍याउनु अपराध नभएको उल्लेख गर्दै, यस घटनालाई लोकतान्त्रिक मूल्यमान्यता र मानवअधिकारमाथिको प्रहार भनेको छ । ‘नागरिकको सुरक्षा र अधिकार संरक्षण गर्ने जिम्मेवारी बोकेको प्रहरी संगठन आफैं दमनमा उत्रिनु अत्यन्त चिन्ताजनक र निन्दनीय कार्य हो,’ विज्ञप्तिमा लेखिएको छ ।

एलाइन्सले माजिद अन्सारीसहित पक्राउ परेका सबैलाई बिना शर्त तत्काल रिहा गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरी कर्मचारीमाथि कारबाही गर्न, भेला हुन, प्रदर्शन गर्न र मानवीय सहायता पुर्‍याउन पाउने अधिकारको सम्मान गर्न र विस्थापित परिवारहरूलाई सुरक्षित आवास, खाद्य, स्वास्थ्य र सरसफाइको तत्काल व्यवस्था गर्न माग गरेको छ ।

साथै जबरजस्ती उठाउने र बल प्रयोग गर्ने नीतिको अन्त्य गर्दै सरोकारवालासँग संवाद गरी न्यायपूर्ण समाधान खोज्नुपर्ने पनि एलाइन्सको माग छ ।

जेन जेड मुभमेन्ट एलाइन्सले यस घटनाको निरन्तर निगरानी गर्ने र न्याय तथा जवाफदेहिताका लागि आवाज उठाइरहने जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस