
काठमाडौं, २४ साउन। हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन् ।
नेपाल टेलिकमको टावर सञ्चालनमा नआउँदा नगरपालिकाको वडा नम्बर ५ र ६ का सयौँ नागरिक सामान्य फोन गर्नसमेत अग्ला डाँडाकाँडातिर पुग्न बाध्य भएका छन् ।
त्रिपुरासुन्दरी–५ खदाङकी स्थानीय मिना सार्कीका अनुसार गाउँमा लामो समयदेखि टावर नचल्दा आफन्तसँग सम्पर्क गर्नेदेखि आवश्यक सूचना आदानप्रदानसम्मका काम प्रभावित भएका छन् ।
‘गाउँमा लामो समयदेखि टावर छैन । खबर आदानप्रदान गर्न निकै समस्या भइरहेको छ । झण्डै एक महिना भयो, अहिलेसम्म किन बनेन भन्ने कुनै जानकारी छैन । अझै कति समय यसरी सम्पर्कविहीन बस्नुपर्ने हो, थाहा छैन,’ उनले भनिन् ।
स्थानीयका अनुसार नेटवर्क नहुँदा दैनिक जीवनका सामान्य कामसमेत प्रभावित भएका छन् । त्रिपुरासुन्दरी–५ की वडा सदस्य सम्झना झाँक्रीले टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नुपरेको बताइन् ।
गाउँमै फोन नलाग्ने भएपछि स्थानीयहरू अग्ला डाँडाकाँडातर्फ पुगेर मात्रै फोन गर्न बाध्य भएको उनले बताइन् ।
सञ्चार सेवाको अभावले दैनिक कामकाज, आपत्कालीन सूचना आदानप्रदान तथा प्रशासनिक सम्पर्कमा समेत समस्या सिर्जना भएको छ ।
हाल त्रिपुरासुन्दरी–५ अन्तर्गतका ल्हा, खदाङ र करवगाड तथा वडा नम्बर ६ का फूलचिङ, श्रीविन्दे र पालङलगायतका बस्तीका नागरिक सञ्चार सेवाको अभाव झेलिरहेका छन् ।
स्थानीयका अनुसार सञ्चार सेवा अवरुद्ध हुँदा करिब तीन सय घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
त्रिपुरासुन्दरी–६ का स्थानीय प्रकाश सार्कीका अनुसार उक्त क्षेत्रमा रहेको नेपाल टेलिकमको टावरमा फोरजी सेवा जडान गरिएपछि नेटवर्क झन् अस्थिर बनेको हो ।
‘पहिला टावर नियमितजस्तै चल्थ्यो । दिउँसो घाम लागेको बेला मात्रै भए पनि नेटवर्क आउँथ्यो । अहिले त त्यो पनि पूर्ण रूपमा बन्द छ । काठमाडौंमा पढ्ने छोरासँग लामो समयदेखि कुरा गर्न पाएको छैन । टावर कहिले बन्छ भन्ने पनि थाहा छैन,’ उनले दु:खेसो पोखे ।
टावर अवरुद्ध हुँदा सुरक्षा निकायको कामसमेत प्रभावित भएको छ । इलाका प्रहरी कार्यालय करवगाड–खदाङका प्रमुख पाण्डवकुमार सिंहका अनुसार जिल्लामा घटना जानकारी गराउने, समन्वय गर्ने तथा दैनिक प्रतिवेदन पठाउने काममा समस्या भइरहेको छ ।
‘टावर नहुँदा दैनिक कामकाज प्रभावित भएको छ । कुनै घटना भए तुरुन्त जानकारी गराउन वा जिल्लासँग समन्वय गर्न निकै कठिन भइरहेको छ । हाम्रो टोली नियमित गस्तीमा जान्छ । तर गस्तीका क्रममा कुनै आकस्मिक घटना भए तत्काल सूचना आदानप्रदान गर्न नसक्दा थप चुनौती सिर्जना भएको छ,’ उनले भने ।
त्यस्तै, त्रिपुरासुन्दरी–५ खदाङस्थित फोक्सुण्डो आधारभूत विद्यालयका प्रधानाध्यापक गोरख बुढाले समेत टावर अवरुद्ध हुँदा विद्यालयको दैनिक कामकाज तथा सूचना आदानप्रदानमा समस्या भइरहेको बताए ।
नेपाल दूरसञ्चार प्राधिकरण डोल्पाका कार्यालय प्रमुख दया विक्रम केसीले टावर सञ्चालनका लागि नेपाल टेलिकमको कर्णाली प्रदेश कार्यालयबाट प्राविधिक टोली आए पनि सडक अवरुद्ध भएका कारण टावरसम्म पुग्न नसकेको बताए ।
‘टावर बनाउने भनेर प्रदेश कार्यालयबाट टोली आएको हो । तर सडकखण्ड अवरुद्ध भएका कारण बीच बाटोबाटै फर्किनुपर्यो,’ उनले भने, ‘त्यहाँ रहेको टावरमा विद्युत् सेवाको पहुँच नहुँदा र पुरानो सोलार ब्याट्री बिग्रिएका कारण समस्या आएको हो ।’
टावरसम्म विद्युत् प्रसारण लाइन विस्तारको काम सकिए पनि केही प्राविधिक कारणले सेवा सञ्चालनमा ढिलाइ भएको उनले बताए । नेपाल विद्युत् प्राधिकरण डोल्पा वितरण केन्द्रसँग समन्वय गरी चाँडै मर्मत गरेर टावर सञ्चालनमा ल्याउने तयारी भइरहेको केसीले जानकारी दिए ।
‘पहिला टावर ठीकै थियो। केही समयअघि उक्त टावरमा फोरजी सेवा जडान गरेपछि सोलारले काम नगर्दा समस्या भएको हो,’ उनले भने ‘अब केही समयका लागि फोरजी सेवा बन्द गरेर फोन सेवाका लागि भए पनि टुजी सेवा सञ्चालन गर्नेछौँ ।’
सरकारले विकसित सहरहरूमा नि:शुल्क वाइफाइ सेवा विस्तार गर्ने घोषणा भइरहँदा दुर्गम कर्णालीका बस्ती भने आधारभूत सञ्चार सेवाबाटै वञ्चित छन् ।
टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा शिक्षा, स्वास्थ्य, सुरक्षा, प्रशासनिक सेवा तथा आफन्तसँगको सम्पर्कसमेत प्रभावित बनेको स्थानीयको भनाइ छ ।
लामो समयदेखि सञ्चारविहीन भएका स्थानीयले सम्बन्धित निकायसँग तत्काल टावर मर्मत गरी सञ्चार सेवा नियमित गर्न माग गरेका छन् ।
