
रमेश कुमार यादब
साउन ११, रौतहट
बृन्दावन नगरपालिकाले नगरवासीलाई स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यसहित अघि बढाएको शुद्ध खानेपानी आयोजना तीव्र गतिमा अगाडि बढिरहेको छ। वडा नं. ८ मा निर्माणाधीन खानेपानी आयोजनाको बोरिङ अन्तिम चरणमा पुगेको केही समयपछि अब वडा नं. ६ का स्थानीयका लागि पनि खुसीको खबर आएको छ। वडा नं. ६ को हर्षाहामा निर्माण भइरहेको शुद्ध खानेपानी ट्यांकी तथा बोरिङ परियोजना अन्तिम चरणमा पुगेको छ।

नगरपालिकाले दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गर्ने उद्देश्यका साथ वडा नं. ६ मा दुईवटा शुद्ध खानेपानी बोरिङ तथा ओभरहेड ट्यांकी निर्माणको योजना अघि बढाएको हो। तीमध्ये एउटा बोरिङको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने आवश्यक पाइप जडानको काम तीव्र रूपमा भइरहेको छ। नगरपालिकाका अनुसार उक्त काम सम्पन्न भएपछि परीक्षण गरी छिट्टै सञ्चालनको तयारी गरिनेछ।
निर्माणाधीन आयोजनाको स्थलगत अनुगमन गर्दै बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धता अनुसार योजना प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बताउनुभयो। उहाँले पहिलो बोरिङको काम सम्पन्न हुनेबित्तिकै दोस्रो बोरिङ तथा ओभरहेड ट्यांकी निर्माण कार्य पनि सुरु गरिने जानकारी दिनुभयो।

नगर प्रमुख कुर्मीका अनुसार नगरपालिकाको वडा नं. ८ स्थित आकडपाथड क्षेत्रमा निर्माणाधीन शुद्ध खानेपानी ओभरहेड ट्यांकी परियोजनाका लागि आवश्यक डिप बोरिङको काम पनि अन्तिम चरणमा पुगेको छ। सो आयोजना सम्पन्न भएपछि उक्त क्षेत्रका स्थानीयले वर्षौंदेखिको शुद्ध खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ।
उहाँले नगरपालिकाले विकास निर्माणका कामलाई उच्च प्राथमिकतामा राख्दै कुनै पनि योजना गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गराउने नीति लिएको स्पष्ट पार्नुभयो। विकासका नाममा कुनै प्रकारको दबाब, व्यक्तिगत स्वार्थ वा अनावश्यक हस्तक्षेप स्वीकार नगर्ने बताउँदै उहाँले जनताको हितलाई केन्द्रमा राखेर काम भइरहेको उल्लेख गर्नुभयो।

“हामी विकासको यात्रामा दृढतापूर्वक अगाडि बढिरहेका छौं। नगरवासीलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउनु हाम्रो प्रमुख दायित्व हो। विकास निर्माणका काममा कुनै सम्झौता हुँदैन, गुणस्तर र समयमै सम्पन्न गराउनु नै हाम्रो प्राथमिकता हो,” नगर प्रमुख कुर्मीले अनुगमनका क्रममा भन्नुभयो।
बृन्दावन नगरपालिकाले पछिल्लो समय सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा अन्य आधारभूत पूर्वाधार विकासका क्षेत्रमा निरन्तर लगानी बढाउँदै आएको छ। नगरका विभिन्न वडामा सञ्चालित खानेपानी आयोजनाहरू सम्पन्न भएपछि हजारौं स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ।

स्थानीयवासीले पनि खानेपानी आयोजना समयमै सम्पन्न भएर सञ्चालनमा आए दैनिक उपभोगका लागि स्वच्छ पानीको पहुँच सहज हुने विश्वास व्यक्त गरेका छन्। वर्षौंदेखि इनार, हातेपम्प तथा अन्य असुरक्षित स्रोतमा निर्भर रहन बाध्य स्थानीयका लागि यी आयोजनाले जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
