
सुनसरी, २४ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार घटनामा संलग्न हुन सक्ने आशंकामा शनिबार पाँच जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा हदिश मियाँका कान्छा छोरा कादिर मियाँ, ताहिर मियाँका भाइ तथा जाहिर मियाँका छोरा, अबुल मियाँका कान्छा छोरा तथा नाम नखुलेका अन्य दुई जना रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार डीजे काण्डदेखि गोलीकाण्डसम्मका घटना तथा त्यसपछिको परिस्थितिमा भएका विभिन्न तोडफोडमा संलग्न हुन सक्ने आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये चार जनालाई नेपाल–भारत सीमा पार गर्ने क्रममा र एक जनालाई सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको डीएसपी खड्काले जानकारी दिए।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यद्यपि, पक्राउ परेकाहरू घटनामा वास्तवमै संलग्न थिए वा थिएनन् भन्ने विषयमा प्रहरीले आधिकारिक पुष्टि गरिसकेको छैन। घटनामा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप विवरण तथा अन्य सम्भावित पक्राउबारे प्रहरीले अनुसन्धानपछि जानकारी दिने जनाएको छ।
