भन्सार छलीको सामान बरामदमा प्रहरी मुचुल्कामाथि उठ्यो प्रश्न

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २४, आईतबार (२ घण्टा अघि)
  • ४७ पटक पढिएको
भन्सार छलीको सामान बरामदमा प्रहरी मुचुल्कामाथि उठ्यो प्रश्न

सप्तरी, २४ साउन। भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामान र मोटरसाइकल बरामद भएको घटनामा इलाका प्रहरी कार्यालय बोदेबरसाइनले घटनाको वास्तविक विवरणभन्दा फरक मुचुल्का तयार गरेको आरोप लागेको छ ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले कार्यालयबाटै छाडेको दाबीसमेत स्थानीयले गरेका छन् ।

स्रोतबाट प्राप्त सूचनाका आधारमा गरिएको स्थलगत तथा थप बुझाइका क्रममा स्थानीयको भनाइ र प्रहरीले सार्वजनिक गरेको विवरणबीच घटनाको समय, स्थान र पक्राउसम्बन्धी विषयमा फरक देखिएको हो ।

बोदेबरसाइन नगरपालिका–५ स्थित बोदेबरसाइन गाउँमा गत १८ गते अपराह्न करिब ३:३० बजे भारतबाट भन्सार छली गरी ल्याइएको सामानसहित एक व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा बुझाएको स्थानीयको दाबी छ ।

तर प्रहरीले भने घटनाको समय र स्थान फरक उल्लेख गर्दै १९ गते राति १२:३० बजे बोदेबरसाइन नगरपालिका–५ स्थित शिवचोकबाट नम्बर प्लेट नभएको हिरो कम्पनीको रातो रङको १६० सीसी एक्स्ट्रिम मोटरसाइकल तथा विभिन्न मोबाइलका सामान बरामद गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले २१ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रहरी टोलीलाई देख्नेबित्तिकै मोटरसाइकल र बोरा सोही स्थानमा छाडेर तस्कर फरार भएका थिए । प्रहरीले बोराहरू खोली जाँच गर्दा विभिन्न मोबाइलका सामान फेला परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेका अनुसार बरामद मोटरसाइकल तथा सामानको अनुमानित मूल्य ३ लाख १२ हजार ३ सय रुपैयाँ रहेको छ ।

तर स्थानीयले भने सामानसहित एक व्यक्तिलाई पक्राउ गरेर प्रहरीलाई बुझाएको दाबी गरेका छन् । उनीहरूका अनुसार पक्राउ परेका व्यक्तिसहितको घटनालाई बेवारिसे सामान बरामद भएको देखाउने गरी मुचुल्का तयार गरिएको हो ।

स्थानीयका अनुसार भारतबाट सामान ल्याउने कार्यमा संलग्न रहेको आरोप लागेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख प्रहरी नायव निरीक्षक शिवशंकर शर्माले प्रहरी कार्यालयबाटै छाडेका थिए ।

स्थानीय सुदी कुमार यादवले घटना दिउँसो भएको दाबी गर्दै प्रहरीले सार्वजनिक गरेको विवरणमा रातिको घटनाजस्तो देखाइएकोप्रति प्रश्न उठाए ।

‘दिउँसो भएको घटना प्रहरीले कसरी रातिको देखायो भन्नेमा हामी छक्क परेका छौँ,’ यादवले भने, ‘सर्वसाधारणलाई यसरी गलत विवरण दिएर झुक्याउन मिल्दैन ।’

घटनामा स्थानीयले प्रहरीले अपनाएको पक्राउ तथा बरामदगी प्रक्रियामाथि प्रश्न उठाउँदै वास्तविक घटना र प्रहरीको आधिकारिक विवरणबीच देखिएको अन्तरबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

यता, स्थानीयले लगाएको आरोपबारे इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख प्रहरी नायव निरीक्षक शिवशंकर शर्माले आरोपमा कुनै सत्यता नरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काले आफूलाई बेवारिसे अवस्थामा सामान फेला परेको जानकारी रहेको बताए । पक्राउ गरेर छाडिएको विषयमा प्रमाण वा जानकारी प्राप्त भए पुन: कारबाही गरिने उनको भनाइ छ ।

‘हामीलाई बेवारिसे अवस्थामा सामान फेला परेको जानकारी आएको हो । यदि मान्छेलाई पक्राउ गरेर छाडिएको हो भने हामी फेरि कारबाही गर्छौँ,’ खड्काले भने ।

यसैबीच, तस्करीमा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूले आफूलाई प्रहरीले पक्राउ गरेर कार्यालयमा ल्याएपछि छाडेको दाबी गरेका छन् । उनीहरूले प्रहरीलाई तस्करीबापत मासिक रकम बुझाउने गरिएको आरोपसमेत लगाएका छन् । उक्त आरोपको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस