
वीरगञ्ज , २४ साउन। विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट ३ हजार ५०० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ। प्रहरीले मदिरा ओसारपसारमा प्रयोग भएको सवारीसाधनसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोक र त्रिशूल चोकमा सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा अवैध घरेलु मदिरा बरामद गरिएको हो।
हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज १४०२ नम्बरको गाडीलाई प्रतिमा चोकमा रोकेर जाँच गर्दा प्लास्टिकको बोराभित्र १०८ वटा पोकामा लुकाएर ल्याइएको २ हजार २०० लिटर तयारी घरेलु मदिरा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
अवैध मदिरा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडाका मनोजकुमार थिङ तथा बाराका कोपिला गुरुङ, रोनु तामाङ र माया पाख्रिनलाई पक्राउ गरेको छ।
यसैबीच, सोही अपरेसनलाई निरन्तरता दिने क्रममा प्रहरीले वीरगञ्ज–१५ स्थित त्रिशूल चोकमा छापा मारेर गैरकानुनी रूपमा भण्डारण गरी राखिएको थप ७५ पोका अर्थात् १ हजार ३०० लिटर घरेलु मदिरा बरामद गरेको छ।
बरामद गरिएको मदिरा, सवारीसाधन तथा पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय घडिअर्वामा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता मल्लका अनुसार अवैध मदिरा भण्डारण तथा बिक्री–वितरणमा संलग्न मुख्य सञ्चालकहरूको समेत खोजी भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
