संविधान र राजनीतिक उपलब्धि जोगाउन मधेश केन्द्रित दलको ‘अग्रगामी मोर्चा’

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २४, आईतबार (१ घण्टा अघि)
  • ३५ पटक पढिएको
संविधान र राजनीतिक उपलब्धि जोगाउन मधेश केन्द्रित दलको ‘अग्रगामी मोर्चा’

जनकपुरधाम , २४ साउन। सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता र सामाजिक न्यायको र क्षा गर्दै मुलुकलाई राजनीतिक निकास दिन ‘अग्रगामी मोर्चा ‘ गठन गरेका छन् ।

जनता समाजवादी पार्टी -जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा एक अवधारणा– पत्रसमेत जारी गर्दै अग्रगामी मोर्चाको घोषणा गरेका छन् । काठमाण्डुमा शनिबार आयोजित कार्यक्रममा मोर्चाको अवधारणापत्र सार्वजनिक गर्दै सहभागी नेताहरूले मुलुक र ाजनीतिक, आर्थिक तथा सामाजिक संकटतर्फ उन्मुख भएको दाबी गरे ।

उनीहरूले वर्तमान राजनीतिक नेतृत्व र राज्य सञ्चालन पद्धतिप्रति असन्तुष्टि व्यक्त गर्दै विगतका कमजोर ीको समीक्षा र आत्मसमीक्षा गरी राजनीतिक सुधार र शुद्धीकरण आवश्यक रहेकोमा जोड दिए । पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले संघीयता, लोकतन्त्र र गणतन्त्रसमेत प्रश्नको घेरामा परेको दाबी गरे। जनयुद्ध, जनआन्दोलन, सडक तथा संसदीय संघर्षसँगै मधेश, थारुवान र जनजातिलगायतका आन्दोलनबाट प्राप्त अनुभवलाई एकीकृत गर्दै मोर्चा निर्माण गरिएको उनले बताए ।  ‘राजनीतिक दल तथा नेतृत्वले विगतका कमजोरीको निर्मम समीक्षा र आत्मसमीक्षा गर्दै सुधारको बाटोमा अघि बढ्नुपर्नेछ,’ शर्माले भने,’राजनीतिमा सुधार र शुद्धीकरण गर्ने उद्देश्यले अग्रगामी मोर्चा गठन गरिएको हो ।’ उनले राष्ट्रिय हित र सार्वभौमसत्तालाई केन्द्रमा राखेर छिमेकी मुलुकसँग समानता र पारस्परिक सम्मानका आधारमा सम्बन्ध विस्तार गर्ने नीति मोर्चाले लिएको बताए ।

सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न संघ, प्रदेश र स्थानीय तहको संयुक्त संयन्त्र बनाउने योजना पनि उनले सुनाए । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक राजनीतिक अन्योल र अनिश्चिततातर्फ गइरहेको बताए । शक्तिको अत्यधिक केन्द्रीकरणले अधिनायकवाद जन्माउने चेतावनी दिँदै उनले संघीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता उपलब्धिमाथि प्रहार भइरहेको दाबी गरे ।’मुलुक राजनीतिक अन्योल र अनिश्चिततातर्फ गइरहेको छ,’ यादवले भने, ‘यसलाई रोकेर सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको दिशामा अग्रगामी निकास दिन साझा प्रयासस्वरूप यो मोर्चा निर्माण भएको हो ।

‘ उनले संविधान संशोधनमार्फत विभेद र असमानता अन्त्य गर्नुपर्ने धारणा राख्दै बढ्दो भ्रष्टाचार, कमजोर शान्ति–सुरक्षा र जर्जर आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरे। मोर्चा सत्ता परि वर्तनका लागि मात्र नभइ सामाजिक न्याय र अग्रगामी परि वर्तनका लागि क्रियाशील हुने उनको दाबी थियो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक यात्रा सहज नभएको टिप्पणी गर्दै र ाजनीतिलाई ‘डर्टी गेम’ को संज्ञा दिए । सत्ता र नेतृत्वमा पुग्न अनेकौँ चुनौती र कठिनाइ पार गर्नुपर्ने उनको भनाइ थियो । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके र ाउत) ले मोर्चा सत्ता प्राप्तिका लागि गठन नगरिएको स्पष्ट पारे ।

संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता र मानव अधिकारलगायतका उपलब्धिको रक्षा यसको मुख्य उद्देश्य रहेको उनले बताए ।’यो मोर्चा संघर्षका लागि बनेको हो, सत्ता प्राप्तिका लागि हामीले गठबन्धन गरेका होइनौँ,’ राउतले भने । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनमा अपेक्षित परिवर्तन आउन नसकेको बताए । वर्तमान राजनीतिमा धोका, बेइमानी र अनैतिकता हाबी भएको भन्दै उनले अग्रगामी राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। राजनीतिक अस्थिरता, सरकार परिवर्तन र युवा पलायनले मुलुकको संकट थप गहिरिएको उनको भनाइ थियो ।

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाए । विदेशमा रहेका युवालाई स्वदेश फर्काउने र सुशासन कायम गर्ने भनिए पनि व्यवहारमा त्यसको विपरीत अवस्था देखिएको उनको दाबी थियो । सरकारले नागरिकमाथि करको भार बढाएको आरोप लगाउँदै चौधरीले कर तिर्ने नागरिकभन्दा करको दायित्व पूरा नगर्ने पक्षलाई करको दायरामा ल्याउनुपर्ने बताए। किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाका कारण उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएको उनले बताए ।

सरकारविरुद्ध आफूहरू तत्काल सडक आन्दोलनमा नलागेको स्पष्ट पार्दै चौधरीले आफ्ना माग र सुझाव बेवास्ता गरिए आन्दोलनको स्वरूप परिवर्तन हुन सक्ने चेतावनी दिए । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र र समावेशिताजस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ ले सशक्त भूमिका खेल्ने बताएका छन् । उनले वर्तमान सरकार जनभावना विपरीत र विचारविहीन भएको टिप्पणी गरे । युवाको सपना र आदर्शलाई दक्षिणपन्थी शक्तिहरूले दुरुपयोग गरिरहेको उनले आरोप लगाए ।

मोर्चामा सहभागी नेताहरूले फरक राजनीतिक पृष्ठभूमि भए पनि संविधानवाद, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, समावेशिता, सुशासन र राजनीतिक सुधारका साझा मुद्दामा सहकार्य गर्ने बताएका छन् । सत्ता समीकरणभन्दा राजनीतिक संस्कार र राज्य सञ्चालनको पद्धति परिवर्तनलाई प्राथमिकता दिने उनीहरूको दाबी छ ।

यद्यपि फरक राजनीतिक पृष्ठभूमि, विचार र स्वार्थ बोकेका दल तथा नेताबीचको यो सहकार्य आगामी दिनमा कति प्रभावकारी र दीर्घकालीन हुन्छ भन्ने चुनौती भने कायमै रहेको टिप्पणीसमेत हुन थालेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस