जनकपुरमा एक महिनापछि पुनः सुरु भयो सवारीचालक अनुमतिपत्र परीक्षा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २८, बिहिबार (३ हप्ता अघि)
  • ७१ पटक पढिएको
जनकपुरमा एक महिनापछि पुनः सुरु भयो सवारीचालक अनुमतिपत्र परीक्षा

जनकपुरधाम, २८ साउन। मधेस प्रदेश सरकार मातहत रहेको यातायात व्यवस्था कार्यालय जनकपुरमा एक महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र लिनेहरूका लागि लिखित तथा प्रयोगात्मक परीक्षा लिन सुरु भएको छ ।

यातायात व्यवस्था कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै अनलाइनमा फारम भरेर राजस्व भुक्तानी गरेकाहरूलाई लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी हुन आह्वान गरेको छ । कार्यालयले लिखित परीक्षाका लागि आज (बिहीबार) तथा प्रयोगात्मक परीक्षाका लागि भोलि (शुक्रबार) कार्यतालिका रहेको सूचनामा उल्लेख गरेको छ ।

कार्यालयले अहिले सवारी चालक अनुमति पत्र ‘ए’ र ‘के’ वर्गमा फारम भरेकाहरूको मात्र लिखित तथा प्रयोगात्मक परीक्षा लिइने जनाएको छ । अन्य वर्गका लागि पछि सूचना जारी हुने कार्यालयका वरिष्ठ शाखा अधिकृत चन्देश्वर साहले बताए ।

साहका अनुसार ठुला तथा साना सवारीका काम सर्भर अपडेट भएसँगै राम्रै भए पनि सवारी चालक अनुमति पत्रका सम्बन्धमा समस्या देखिएको छ । उनले भने, ‘सवारी चालक अनुमति पत्रको काममा आंशिक समस्या समाधान भए पनि केही समस्या यथावत छन् । विभागसँग जुम मिटिङमा यो कुरा राखेका छौँ । उहाँहरू समस्या समाधानतर्फ केन्द्रित हुनुभएको छ ।’

अपडेट गरिएको नयाँ प्रणालीमा अहिले पनि ओटीपी नआउने, ‘ए’ वर्गको लिन खोजेको लाइसेन्स बी वा सी वर्गमा देखाउने गरेको छ । निमित्त प्रमुख साहले प्रयोगात्मक परीक्षापछिमात्र यो प्रणालीले कति काम गरेको भन्ने थाहा हुने बताए । पुरानो सवारी चालक अनुमतिपत्रको नवीकरणमा पनि समस्या आउने गरेको उनले सुनाए ।

परीक्षामा ८५ जना सहभागी भएका छन् । कार्यालयले परीक्षा दिन आउने परीक्षार्थीहरूलाई अनिवार्य रूपमा प्रवेशपत्र, सक्कल नागरिकताको प्रमाणपत्र तथा वर्ग थपको हकमा सवारी चालक अनुमति पत्र लिएर आउनुपर्ने र प्रयोगात्मक परीक्षाका लागि चाहिने सवारी साधनको व्यवस्था स्वयंले गर्नुपर्ने प्रस्ट पारेको छ ।

यसअघि यातायात व्यवस्था विभागको सर्भर बिग्रिदा नयाँ सवारी चालक अनुमतिपत्र तथा नवीकरणको काम असार २९ गतेदेखि रोकिएको थियो । विभागको सर्भरबाट काम गर्नुपर्ने र उक्त विभागको सर्भर डाटा अपडेटसहित नयाँ राख्नुपर्ने भएकाले यहाँबाट हुने सबैकाम ठप्प भएको थियो ।

सवारीचालक अनुमतिपत्र तथा नवीकरण लगायतका काम रोकिएपछि दैनिक रूपमा सयौँ सेवाग्राही कार्यालय धाउँदै फर्किन बाध्य थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस