
वीरगञ्ज , ३१ साउन। वाणिज्य बैंकहरूले भदौ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। भदौ १ गतेदेखि लागू हुने गरी पाँचवटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन्।
वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर भदौ महिनामा ०.०४ प्रतिशत बिन्दुले घटेर ४.१३ प्रतिशतमा झरेको छ। साउन महिनामा यस्तो औसत ब्याजदर ४.१७ प्रतिशत रहेको थियो।
त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ०.०४ प्रतिशत बिन्दुले घटेर ३.०८ प्रतिशतमा कायम भएको छ। साउन महिनामा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.१२ प्रतिशत थियो।
पाँच बैंकले ब्याजदर घटाए
भदौ महिनाका लागि नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।
ब्याजदर घटाउने बैंकको संख्या पाँच रहे पनि १५ वटा वाणिज्य बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
ब्याजदर यथावत् राख्ने बैंकमा कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एनआईसी एशिया बैंक रहेका छन्।
मुद्दती निक्षेपको ब्याजदरमा आएको गिरावटसँगै बैंकिङ प्रणालीमा निक्षेपकर्ताले पाउने प्रतिफलमा समेत कमी आएको छ। यता बैंकहरूले निक्षेपको लागत घटाउँदै लगेकाले कर्जाको ब्याजदरमा समेत यसको प्रभाव पर्न सक्ने देखिन्छ।

