
बारा, ३१ साउन। बारा सदरमुकाम कलैयामा रात्रीकालीन मादक पदार्थ सेवन (मापसे) जाँचसँगै ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाले जाँच तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो।
अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रमुख ट्राफिक प्रहरी सहायक निरीक्षक (असई) प्रिन्शानन्द यादवको नेतृत्वमा शनिबार राति ट्राफिक जाँच गरिएको थियो। पोस्टअगाडि एक सयभन्दा बढी सवारीसाधन जाँच गरिएको जनाइएको छ।
जाँचका क्रममा चालकलाई मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तोकिएको लेनअनुसार सवारी चलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सचेत गराइएको थियो। विशेषगरी दुईपाङ्ग्रे सवारी चालकलाई मापसे नगरी सवारी चलाउन, हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्न तथा तीव्र गतिमा सवारी नचलाउन आग्रह गरिएको थियो।
ट्राफिक प्रहरी जवान राजेशप्रसाद कुशवाहाले मापसे गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने बताए। यसबाट चालकसँगै अन्य सडक प्रयोगकर्ताको ज्यानसमेत जोखिममा पर्ने भएकाले जिम्मेवार भएर सवारी चलाउन उनले आग्रह गरे।
चालकलाई रातिको समयमा सवारी चलाउँदा गति नियन्त्रण गर्न, ओभरटेक गर्दा सावधानी अपनाउन तथा सवारीसाधनको अवस्था जाँच गरेर मात्र सडकमा निस्कन सचेत गराइएको थियो। सडकमा पैदल यात्रु तथा अन्य सवारीसाधनप्रति विशेष ध्यान दिनसमेत चालकलाई आग्रह गरिएको थियो।
सवारीसाधन जाँचसँगै चालकलाई ट्राफिक नियम उल्लंघनबाट हुन सक्ने दुर्घटना र त्यसका सम्भावित जोखिमबारे जानकारीसमेत गराइएको थियो।
रातिको समयमा मापसे, तीव्र गति तथा लापरबाहीका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न नियमित रूपमा चेकिङ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी सहायक निरीक्षक यादवले बताए।
ट्राफिक प्रहरीको चेकिङ मात्र पर्याप्त नभई चालक स्वयंले पनि ट्राफिक नियम पालना गर्दै जिम्मेवार ढंगले सवारी चलाउनुपर्ने उनले बताए। सडक दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु तथा अन्य सडक प्रयोगकर्ताले समेत आवश्यक सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
