
पर्सा, ३१ साउन। पर्साको भलुवाही खोलाबाट अवैधरूपमा बालुवा उत्खनन गरी चोरी–तस्करी गरेको आरोपमा प्रहरीले तीन वटा ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले जिराभवानी गाउँपालिका–५ शंकर सरैयाबाट एउटा र पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वाबाट दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ट्याक्टरमा ना.३ त ५५३६, प्र.२–०३–००१ त २४११ र को.१ त ९१४५ नम्बरका रहेका छन्।
प्रहरीका अनुसार भलुवाही खोलाबाट अवैधरूपमा बालुवा उत्खनन गरी चोरी–तस्करी भइरहेको सूचनाका आधारमा खटिएको टोलीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ट्याक्टर तथा चालकलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
खोला तथा नदीजन्य पदार्थको अवैध उत्खनन र चोरी–तस्करी नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।
