भन्सार छलीविरुद्ध पर्सा प्रहरीको कारबाही, ४ लाख ७८ हजारका सामान बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ३१, आईतबार (२ घण्टा अघि)
  • ४० पटक पढिएको
भन्सार छलीविरुद्ध पर्सा प्रहरीको कारबाही, ४ लाख ७८ हजारका सामान बरामद

पर्सा, ३१ साउन। जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली तथा चोरी–तस्करी गरी नेपाल भित्र्याइएका करिब ४ लाख ७८ हजार ८ सय रुपैयाँ बराबरका लत्ताकपडा, खाद्यान्न तथा विभिन्न किसिमका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ साल साउन ३० गते कार्यालय तथा मातहतबाट खटिएको प्रहरी विशेष टोलीले जिल्लाका विभिन्न स्थानबाट ती सामान बरामद गरेको हो।

बरामद सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद सामानमा सम्राट मिट मसाला ४६ पोका, नेशनल एभ्रिडे पाउडर दूध १४५ पोका, चना सातु २ बोरा, सातु ४० प्याकेट, रोयल स्टर ५८ प्याकेट, डेरी मिल्क २३ प्याकेट र मिल्क पाउडर २५० केजी रहेका छन्।

त्यस्तै, फर्सीको बीउ १६४ केजी, मरिच ९० केजी, नुटेला (ब्रेड क्रिम) २३ पिस, अमुल डार्क चकलेट डेरी मिल्क १० पिस, किन्डर जोय चकलेट १ बट्टा, एरियल पावर जेल ८ पिस तथा छोकडा १ बोरा बरामद गरिएको छ।

यसैगरी, प्रोटिन पाउडर १ कार्टुन, हेडफोन ५० थान, अण्डरवेयर, गम्छा, गन्जी तथा झोला गरी २०० पिस र काजु तथा मरिच २५ केजीसमेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले खजुर, मेथी, मिट मसाला र गरम मसाला गरी थप ६३ प्याकेट सामानसमेत नियन्त्रणमा लिएको छ।

बरामद गरिएका सम्पूर्ण सामानको अनुमानित मूल्य ४ लाख ७८ हजार ८ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

भन्सार छली तथा चोरी–तस्करी नियन्त्रणका लागि जिल्लाका विभिन्न नाकामा प्रहरी निगरानी तथा विशेष टोली परिचालनलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस