
वीरगञ्ज, ०१ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दू भएको भन्दै दिएको अभिव्यक्तिको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुस्बु ओलीले स्वागत गरेकी छन्।
ओलीले देउवाको उक्त अभिव्यक्तिले नेपालका ८१ प्रतिशत हिन्दू तथा समग्र सनातनी परिवारमा नयाँ आशा र विश्वास जगाएको बताएकी छन्। नेपालको मौलिक सभ्यता, संस्कृति, परम्परा तथा सनातन पहिचानलाई सम्मान गर्ने आवाज जहाँबाट आए पनि त्यसको स्वागत गर्नुपर्ने उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै ओलीले नेपाली कांग्रेसका शीर्ष नेता देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने अधिवेशनको निर्णयप्रति व्यक्त गरेको धारणा गम्भीर राजनीतिक अर्थ बोकेको बताएकी छन्।
उनले नेपाललाई स्पष्ट जनभावना र राष्ट्रिय बहसबिनै धर्मनिरपेक्ष बनाइएको विषयमा अहिले पनि गम्भीर प्रश्नहरू उठिरहेको दाबी गर्दै देशको पहिचान, जनभावना र ऐतिहासिक निरन्तरताबारे खुलेर राष्ट्रिय बहस गर्नुपर्ने समय आएको बताएकी छन्।
ओलीले देउवाको अभिव्यक्ति व्यक्तिगत आस्थामा मात्रै सीमित नरही नेपालको मौलिक पहिचान र सनातन सभ्यताको सम्मानतर्फ राष्ट्रिय राजनीतिको ‘कोर्स करेक्सन’ को बाटो खोल्नुपर्ने धारणा राखेकी छन्।
उनले भनेकी छन्, ‘आस्था व्यक्तिगत हुन सक्छ, तर राष्ट्रिय पहिचान साझा हुनुपर्छ।’ नेपालको सनातन पहिचानका विषयमा अब इमानदार राष्ट्रिय बहस हुनुपर्ने उनको जोड छ।
देउवाको पछिल्लो अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दल तथा नेताहरूबाट प्रतिक्रिया आउने क्रम जारी रहेको छ।
