सखुहवाबाट २० क्युफिट सालको काठ बरामद, पाँच साइकल नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १, सोमबार (१ घण्टा अघि)
  • ६३ पटक पढिएको
सखुहवाबाट २० क्युफिट सालको काठ बरामद, पाँच साइकल नियन्त्रणमा

बारा, ०१ भदौ। बाराको कोल्हबी नगरपालिका–५ सखुहवा क्षेत्रबाट वन गस्ती टोलीले अवैध रूपमा ओसारपसार भइरहेको करिब २० क्युफिट सालको काठसहित पाँचवटा साइकल बरामद गरेको छ।

विशेष सूचनाका आधारमा कोल्हबी सब–डिभिजन वन कार्यालयका अधिकृत कृष्ण पटेलको नेतृत्वमा खटिएको वन टोलीले राति निगरानी गर्ने क्रममा पाँचवटा साइकलमा लोड गरी लैजाँदै गरेको अवस्थामा सालका पाँचवटा गोलिया बरामद गरेको हो।

वन गस्ती टोलीलाई देखेपछि काठ ओसारपसारमा संलग्न व्यक्तिहरू साइकल तथा काठ त्यहीँ छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएको वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजितकुमार झाका अनुसार बरामद काठ तथा साइकल नियन्त्रणमा लिएर सम्बन्धित वन कार्यालयमा राखिएको छ।

बरामद काठ कुन क्षेत्रबाट अवैध रूपमा कटान गरी ल्याइएको हो तथा काठ ओसारपसारमा को–को संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।

वन कार्यालयले बाराका विभिन्न क्षेत्रमा हुने अवैध रूख कटान तथा काठ तस्करी नियन्त्रणका लागि नियमित गस्ती र विशेष सूचनाका आधारमा निगरानीलाई थप प्रभावकारी बनाउने जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस