
वीरगञ्ज, ०४ भदौ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको विभत्स हत्याको विरोधमा स्थानीयवासीले सुरु गरेको आन्दोलन आज दोस्रो दिन पनि जारी रहेको छ ।
पीडित परिवार तथा आक्रोशित स्थानीयले हिजो बुधबार बिहानैदेखि वीरगञ्ज-पथलैया सडकखण्डमा टायर बालेर सुरु गरेको प्रदर्शन आज पनि निरन्तर रहँदा मुख्य व्यापारिक करिडोरको यातायात पूर्ण रूपमा ठप्प बनेको हो।
“हामीले समयमै सूचना दिँदा पनि प्रहरी सुतिरह्यो, शव भेटिएपछि मात्रै टोली उठेर आयो,” आक्रोशित स्थानीयको यो सामूहिक गुनासोसँगै बाराको जीतपुरसिमरामा स्थिति तनावग्रस्त बनेको छ ।
तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्या प्रकरणमा इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्रीको निलम्बन नभएसम्म सडक नछाड्ने अडान स्थानीयवासीले लिएका छन् ।
प्रहरीको ढिलासुस्ती र लापरबाहीका कारण अबोध बालिकाले ज्यान गुमाउनुपरेको भन्दै आक्रोशित बनेका स्थानीयले २४ घण्टादेखि मुख्य वीरगञ्ज-पथलैया सडकखण्ड पूर्ण रूपमा ठप्प पारेका छन् ।
सडक अवरोध हटाएर यातायात सुचारु गराउन स्थानीय प्रशासन र आन्दोलनरत पक्षबिच बुधबार अबेर रातिसम्म पटक-पटक वार्ता भए पनि कुनै निष्कर्ष निस्कन सकेन । आन्दोलनकारीहरूले इलाका प्रहरी प्रमुख डीएसपी क्षेत्रीको तत्काल निलम्बनलाई मुख्य पूर्वसर्त बनाएपछि वार्ता अनिर्णीत बनेको हो ।
छलफलको अवस्थाबारे जानकारी दिँदै बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई भन्छन्, “बुधबार राति ११ बजेसम्म भएको छलफलमा उहाँहरूले डीएसपी सा’बलाई निलम्बन गर्नुपर्ने अडान राख्नुभयो, जुन जिल्ला तहको अधिकार क्षेत्रभन्दा बाहिरको विषय हो।”
बालिका साउन ३१ गते बेपत्ता हुनासाथ परिवारले प्रहरीलाई खबर गरे पनि र शङ्कास्पद व्यक्तिहरूविरुद्ध किटानी जाहेरी दिँदा समेत सिमरा प्रहरीले खोजीमा कुनै तत्परता नदेखाएको पीडित पक्षको आरोप छ ।
मङ्गलबार साँझ स्थानीय आफैँले घरनजिकैको सुनसान भवनबाट गन्ध आएपछि झ्यालबाट हेर्दा बालिकाको अर्धनग्न शव फेला पारेका थिए । शव भेटिएपछि मात्रै प्रहरी टोली सक्रिय भएर जाहेरी परेका दुई जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीको यही गैरजिम्मेवार शैलीविरुद्ध आन्दोलित स्थानीयले डीएसपी क्षेत्रीमाथि कारबाही नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।
सडक अवरुद्ध हुँदा मुख्य औद्योगिक तथा व्यापारिक करिडोरमा सयौँ सवारी साधन र यात्रुहरू अलपत्र परेका छन् ।
