
वीरगञ्ज, ०४ भदौ। प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले पर्सा जिल्लामा व्याप्त विद्युत् समस्याका कारण जनजीवन अस्तव्यस्त बनेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
मङ्गलवार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर २ का सांसद कानुले विगत केही महिनादेखि जिल्लाभरि विद्युत् आपूर्ति अत्यन्तै जटिल र अनियमित बनेको बताए ।
संसद्लाई सम्बोधन गर्दै सांसद कानुले भने, “पर्सा जिल्लामा कतै ट्रान्सफर्मर बिग्रिएको छ, कतै पोल तथा विद्युत् लाइनको अभाव छ भने कतिपय स्थानमा दिनौँसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको छ । जिल्लाभरिबाट हामीलाई दैनिक रूपमा जनताका गुनासो र फोनहरू आइरहेका छन् ।”
उनले विशेषगरी आर्थिक नगरी वीरगञ्जको मुख्य सडक (मेन रोड) क्षेत्रमा विद्युत् लाइनको समस्याका कारण स्थानीय बासिन्दा र व्यवसायीहरूले ठूलो सास्ती भोग्नुपरेको उल्लेख गरे । अत्यधिक गर्मीको समयमा विद्युत् अनियमित हुँदा सर्वसाधारणको जनजीवन कष्टकर बनेको, विद्यार्थीको पढाइ प्रभावित भएको र किसानको खेतीपातीमा समेत गम्भीर असर परेको उनले बताए ।
“अहिलेको प्रचण्ड गर्मीमा घण्टौँसम्म बिजुली नहुँदा जनता मारमा परेका छन्,” सांसद कानुले थपे, “व्यापारिक प्रतिष्ठानदेखि दैनिक जनजीवनसम्म प्रभावित भएको यस गम्भीर समस्यालाई तत्काल समाधान गर्न म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
सांसद कानुले विद्युत् प्राधिकरण र सम्बन्धित निकायलाई तत्काल पूर्वाधार सुधार गरी निर्बाध विद्युत् आपूर्तिको व्यवस्था मिलाउन जोडदार माग समेत गरेका छन् ।
