सहमति भएको चार महिना बित्दा पनि कार्यान्वयन भएन, वीरगञ्जका बस व्यवसायी आक्रोशित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ४, बिहिबार (२ हप्ता अघि)
  • ४६ पटक पढिएको
सहमति भएको चार महिना बित्दा पनि कार्यान्वयन भएन, वीरगञ्जका बस व्यवसायी आक्रोशित

वीरगञ्ज, ०४ भदौ। वीरगञ्ज बसपार्कबाट विद्युतीय सवारीसाधन तथा टाटा सुमोको जथाभाबी सञ्चालन रोक्न र बसपार्कलाई व्यवस्थित बनाउने विषयमा चार महिनाअघि जिल्ला प्रशासन कार्यालय पर्सामा भएको सहमति कार्यान्वयन नभएको भन्दै बस व्यवसायीहरूले आक्रोश व्यक्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा गत वैशाख २२ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रतिनिधि, बस व्यवसायी, विद्युतीय सवारीसाधन सञ्चालकलगायत सरोकारवालाबिच बसेको बैठकले बसपार्क व्यवस्थापन तथा विद्युतीय सवारी सञ्चालनलाई व्यवस्थित गर्ने विषयमा विभिन्न बुँदामा सहमति गरेको थियो । तर सहमति भएको लामो समय बितिसक्दा पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको व्यवसायीहरूको गुनासो छ ।

बसपार्कमा हुने गरेका विकृति नियन्त्रण, यात्रुलाई सहज सेवा उपलब्ध गराउने तथा सवारी सञ्चालनलाई व्यवस्थित गर्ने उद्देश्यले गरिएको सहमति कार्यान्वयन नहुँदा यात्रु र व्यवसायी दुवै समस्यामा परेको उनीहरूको भनाइ छ ।

व्यवसायीहरूका अनुसार बसपार्कमा टिकट काट्ने नाममा बिचौलिया राखेर यात्रुलाई दुःख दिने तथा हैरानी दिने गतिविधिसमेत अझै रोकिएको छैन । यसले बसपार्कको व्यवस्थापनमा समस्या थपिएको उनीहरूको दाबी छ ।

बैठकमा भएको सहमतिअनुसार दिवा सेवामा सञ्चालन हुने विद्युतीय सवारीसाधन तथा टाटा सुमोलाई दिउँसो २ बजेसम्म सञ्चालन गर्ने समय तोकिएको थियो । तर उक्त समय सीमापछि पनि यस्ता सवारीसाधन साँझ ७ बजेसम्म सञ्चालन भइरहँदा रात्रि सेवाका बसहरू प्रभावित भइरहेको एक बस व्यवसायीले बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयमै सरोकारवालाबिच भएको सहमति तत्काल र कडाइका साथ कार्यान्वयन गर्न आवश्यक छ । सहमति पालना नभएपछि बसपार्क पुनः पुरानै शैलीमा लथालिङ्ग र भद्रगोल बन्दै गएको उनको भनाइ छ ।

बस व्यवसायीहरूले प्रशासन, ट्राफिक प्रहरी तथा सम्बन्धित निकायले सहमति कार्यान्वयनमा तत्काल ध्यान दिनुपर्ने माग गरेका छन् । साथै बसपार्कभित्रको बिचौलिया गतिविधि नियन्त्रण गर्न, सवारी सञ्चालनको समयसीमा पालना गराउन तथा यात्रुलाई सहज यातायात सेवा उपलब्ध हुने वातावरण बनाउन उनीहरूले आग्रह गरेका छन् ।

व्यवसायीहरूले चार महिनाअघि भएको सहमति कार्यान्वयन नभए बसपार्कको समस्या झन् जटिल बन्न सक्ने भन्दै सम्बन्धित निकायलाई तत्काल अनुगमन र आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस