
वीरगञ्ज, ०५ भदौ। मधेश प्रदेश सरकारले प्रदेशअन्तर्गतका विभिन्न सरकारी कार्यालय तथा अस्पतालमा लामो समयदेखि काजमा कार्यरत १४ जना स्वास्थ्य अधिकारीको काज फिर्ता गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरूलाई दरबन्दी कायम रहेको कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो।
मधेश प्रदेश सरकारले यति ठूलो संख्यामा कार्यालय प्रमुख तथा स्वास्थ्य अधिकारीहरूको काज फिर्ता गरेको यो पहिलो पटक भएको जनाइएको छ। लामो समयदेखि एउटै कार्यालयमा काजमा रहेका अधिकारीलाई दरबन्दीअनुसारको कार्यालयमा पठाउने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रदेशको स्वास्थ्य निर्देशनालयमा करिब डेढ वर्षदेखि काजमा रहेका ११औँ तहका स्वास्थ्य शिक्षा प्रशासक सरोज चन्द्र न्यौपानेलाई उनको दरबन्दी रहेको प्रदेश स्वास्थ्य तालिम केन्द्र, पथलैयामा फिर्ता गरिएको छ। त्यस्तै, १०औँ तहका वरिष्ठ स्वास्थ्य सहायक डा. नवल किशोर झालाई स्वास्थ्य कार्यालय सर्लाहीबाट फिर्ता बोलाएर स्वास्थ्य निर्देशनालयमा काज कायम गरिएको छ।
यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लामो समयदेखि काजमा रहेका ९औँ तहका इन्टर्नल मेडिसिन विशेषज्ञ डा. विपिन कुमार झालाई उनको दरबन्दी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ।
प्रादेशिक अस्पताल जनकपुरमा काजमा कार्यरत ९औँ तहका जनरल फिजिसियन डा. सञ्जीव कुमार झालाई उनको दरबन्दी रहेको प्रादेशिक अस्पताल गौरमा खटाइएको छ। सोही अस्पतालमा काजमा रहेका ९औँ तहका बालरोग विशेषज्ञ डा. रविन्द्र कुमार साह, रेडियोलोजिस्ट डा. गिरी रञ्जन प्रधान, एनेस्थेसियोलोजिस्ट डा. रौशन कुमार साह र मनोचिकित्सक डा. दिव्यांशु झालाई पनि काज फिर्ता गरी प्रादेशिक अस्पताल गौरमै पठाइएको छ।
त्यस्तै, प्रादेशिक अस्पताल जनकपुरमा काजमा रहेका ९औँ तहका बालरोग विशेषज्ञ डा. जितेन्द्र जयसवाल र गाइनोकोलोजिस्ट डा. बृजमोहन कुमार रजकलाई उनीहरूको दरबन्दी रहेको प्रादेशिक अस्पताल मलगंवामा पठाइएको छ।
प्रादेशिक अस्पताल जनकपुरमा काजमा कार्यरत ९औँ तहका बालरोग विशेषज्ञ डा. विकास कुमार साह र एनेस्थेसियोलोजिस्ट डा. सन्दीप शर्मालाई उनीहरूको दरबन्दी रहेको प्रादेशिक अस्पताल कलैयामा खटाइएको छ।
त्यसैगरी, प्रादेशिक अस्पतालमा काजमा रहेका ९औँ तहका जनरल मेडिसिन विशेषज्ञ डा. कृष्ण कुमार यादवलाई दरबन्दी रहेको प्रादेशिक अस्पताल सिरहामा पठाइएको छ। ९औँ तहका अर्थोपेडिक सर्जन डा. रवि श्रीवास्तवलाई प्रादेशिक अस्पताल जलेश्वरबाट काज फिर्ता गरी प्रादेशिक अस्पताल सिरहामा दरबन्दी कायम गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेशको राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालसहित विभिन्न सरकारी निकायमा लामो समयदेखि काजमा कार्यरत चिकित्सक तथा स्वास्थ्य अधिकारीलाई उनीहरूको दरबन्दी कायम रहेको जिल्लामा पठाइएको हो।
लामो समयसम्म एउटै कार्यालयमा काजमा रहने प्रवृत्तिलाई अन्त्य गर्दै कर्मचारीलाई दरबन्दीअनुसार परिचालन गर्ने उद्देश्यले काज फिर्ता गरिएको प्रदेश सरकारको भनाइ छ। यस निर्णयसँगै दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन तथा प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
