
वीरगञ्ज, ०५ भदौ। मधेस प्रदेश सरकारले सरकारी सेवा प्रवाहलाई चुस्तदुरुस्त, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन कर्मचारीको आचरण तथा व्यवहार सुधारदेखि कार्यालय समयमा कर्मचारी अनिवार्य रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने निर्देशन दिँदै आएको छ। मन्त्रालय तथा सम्बन्धित निर्देशनालयहरूले समेत यससम्बन्धी पटक–पटक परिपत्र गर्दै आएका छन्।
तर, राजधानी जनकपुरमा रहेको पूर्वाधार विकास कार्यालयमा बिहीबार दिउँसो सरकारी निर्देशनको विपरीत अवस्था देखिएको छ। दिउँसो १२ बजेर ४५ मिनेटमा कार्यालय पुग्दा तीन जना कर्मचारीबाहेक अधिकांश कर्मचारी कार्यकक्षमा भेटिएनन्। कार्यालय परिसरमा सर्वसाधारणका लागि बनाइएको टहरामा केही व्यक्ति बसेको देखिए पनि कार्यालयका अधिकांश कक्ष सुनसान थिए।
कार्यालयको भुइँ तलामा नायब सुब्बा जयकृष्ण झाको कार्यकक्षबाहिर टाँसिएको नेमप्लेटमा ‘बाहिर’ उल्लेख गरिएको थियो भने कार्यकक्षको ढोका बाहिरबाट चुकुल लगाइएको थियो। सोही तलामा रहेको सोधपुछ कक्ष पनि खाली थियो। कर्मचारी बस्ने तीन–चार वटा अन्य कक्षमा समेत कोही कर्मचारी भेटिएनन्।
कार्यालयको पहिलो तलामा कार्यालय प्रमुखको कार्यकक्षको मूल ढोकामा रहेको नेमप्लेटमा पनि ‘बाहिर’ उल्लेख थियो। कार्यकक्षको ढोका बाहिरबाटै चुकुल लगाइएको अवस्थामा थियो। सोही तलामा रहेको लेखा शाखामा अधिकृत लक्ष्मण प्रसाद यादव भने कार्यकक्षमै भेटिएका थिए।
इन्जिनियर सुम्मी मिश्रको नामको नेमप्लेट रहेको कार्यकक्ष खाली थियो। तर, उनको नेमप्लेटमा भने ‘भित्र’ उल्लेख गरिएको देखिन्थ्यो। पहिलो तला पनि अधिकांश समय कर्मचारीविहीन र सुनसान देखिएको थियो।
त्यस्तै, कार्यालय भवनको दोस्रो तलाको अवस्था पनि फरक थिएन। सब–इन्जिनियर मुकेश कुमार यादवको एकल कार्यकक्षमा बाहिरबाट चुकुल लगाइएको थियो। छेउमै रहेको संयुक्त कार्यकक्षमा इन्जिनियर ज्योति साह र पुष्पाकुमारी मण्डलको कार्यकक्ष पनि खाली थियो।
दोस्रो तलामै रहेका सब–इन्जिनियर ममता कुमारी दास र अभिमनु कुमार यादवको कार्यकक्षसमेत सुनसान थियो। उनीहरूको कार्यकक्षको मूल ढोका बन्द अवस्थामा रहेको थियो।
कार्यालयमा सेवाग्राहीको खासै भिडभाड देखिएन। फाट्टफुट्ट रूपमा कार्यालय पुगेका सेवाग्राही भने कर्मचारी नभेटिएपछि विभिन्न कक्षमा पुगेर फर्किन बाध्य भएका थिए।
जनकपुर–१६ पुल्चोकबाट ठेक्कापट्टासम्बन्धी अवस्था बुझ्न कार्यालय पुगेका अमित साहले कुनै पनि सम्बन्धित कर्मचारी नभेटिएपछि रित्तो हात फर्किनुपरेको गुनासो गरे।
‘आज बिदा त हैन, तर कर्मचारी कोही पनि भेटिएनन्। यस्तो टन्टलापुर घाममा आइयो, अब फर्किनु पर्ला,’ उनले भने।
कार्यालयमा अधिकांश कर्मचारी अनुपस्थित देखिनुको कारणबारे बुझ्न कार्यालयका सूचना अधिकारी सन्तोष कुमार यादवसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनले फोन उठाएनन्।
प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सरकारी सेवा प्रवाहलाई चुस्तदुरुस्त, छिटोछरितो र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त हुँदै आएको छ। तर, मधेस प्रदेशका सरकारी कार्यालयमा अझै पनि कर्मचारीको अनुपस्थिति र सेवाग्राहीले समयमै सेवा नपाउने समस्या कायमै रहेको गुनासो बढ्दो छ।
जनताको प्रत्यक्ष सरोकार रहने सरकारी कार्यालयमा कार्यालय समयमै कर्मचारीको अनुपस्थिति र कार्यकक्षमा ताल्चा लाग्नुले सरकारी सेवा प्रवाहप्रतिको गम्भीर प्रश्न उठाएको छ।
