गरिमा हत्या प्रकरणमा प्रशासन र पीडित पक्षबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ५, शुक्रबार (२ हप्ता अघि)
  • ७० पटक पढिएको
गरिमा हत्या प्रकरणमा प्रशासन र पीडित पक्षबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगञ्ज, ०५ भदौ। तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्या प्रकरणलाई लिएर बारामा दुई दिनदेखि जारी आन्दोलन ५ बुँदे सहमतिपछि स्थगित भएको छ।

पीडित परिवार, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला सुरक्षा समितिबीच बिहीबार राति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा भएको लामो वार्तापछि ५ बुँदे सहमति जुटेको हो। सहमतिसँगै आन्दोलनरत पक्षले सडक अवरोधसहित गर्दै आएका सबै प्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ।

सहमतिअनुसार पीडित परिवारलाई उचित राहत रकम तथा रोजगारीको व्यवस्थाका लागि स्थानीय तहको सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी आवश्यक पहल गरिने भएको छ।

त्यस्तै, घटनामा पक्राउ परेका तथा प्रहरी हिरासतमा रहेका व्यक्तिहरूमाथि अनुसन्धानलाई निरन्तरता दिँदै थप व्यक्तिको संलग्नता पुष्टि भएमा उनीहरूलाई समेत कानुनी दायरामा ल्याएर कडा कारबाही गर्ने सहमति भएको छ।

आन्दोलनरत पक्षले उठाएको प्रहरी लापरबाहीको विषयमा समेत प्रशासनले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ। इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा बालिकाको खोजी तथा अनुसन्धानमा बेवास्ता गरेको पाइएमा सम्बन्धित सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गरिने सहमति भएको छ।

यसैगरी, जिल्लाको सुरक्षा व्यवस्थालाई थप सुदृढ र भरपर्दो बनाउने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिएको छ।

साउन ३१ गतेदेखि बेपत्ता भएकी गरिमा चौधरीको शव भदौ २ गते जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित एक खाली घरमा फेला परेको थियो। घटनापछि दोषीलाई कडा कारबाही तथा खोजीमा लापरबाही गर्ने प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै स्थानीयवासीले वीरगञ्ज–पथलैया सडकखण्ड अवरुद्ध गरी आन्दोलन गर्दै आएका थिए।

५ बुँदे सहमति भएपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ भने आन्दोलनरत पक्षले तत्कालका लागि आफ्ना विरोधका कार्यक्रम स्थगित गरेको जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस