‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा सहभागी हुँदै गृहमन्त्री गुरुङ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ७, आईतबार (२ हप्ता अघि)
  • ६१ पटक पढिएको
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा सहभागी हुँदै गृहमन्त्री गुरुङ

वीरगञ्ज, ०७ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ महिनादेखि सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ सहभागी हुने भएका छन्।

रास्वपा केन्द्रीय कार्यालयमा सोमबार साँझ आयोजना हुने विशेष कार्यक्रममा गृहमन्त्री गुरुङ सहभागी भई नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

कार्यक्रमलाई दुई चरणमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। पहिलो चरणमा आम नागरिकले आफ्ना दैनिक समस्या, गुनासा, सुझाव तथा अपेक्षा गृहमन्त्री गुरुङसमक्ष प्रत्यक्ष रूपमा राख्न पाउनेछन्।

त्यसपछि दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीका केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझाव, समसामयिक राजनीतिक विषय तथा नीतिगत सवालमा गहन छलफल हुने बताइएको छ।

रास्वपाका अनुसार नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको हो।

कार्यक्रममार्फत नागरिक र नेतृत्वबीचको दूरी कम गर्दै नागरिकका वास्तविक समस्या तथा अपेक्षालाई नीतिगत तहमा समेट्न सहयोग पुग्ने पार्टीको विश्वास छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस