
वीरगञ्ज, ०७ भदौ। वीरगञ्जस्थित हरि खेतान बहुमुखी कलेजमा राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजनको संस्थागत तालिम आजदेखि औपचारिक रूपमा सुरु भएको छ। एनसीसी सिनियर क्याडेट तालिमका लागि छनोट भएका छात्र–छात्राहरूलाई स्वागत तथा बधाई ज्ञापन गर्दै तालिमको शुभारम्भ गरिएको हो।
तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रमुख सेनानी लोकेन्द्र कार्कीले प्रथम प्रवचन दिँदै गर्नुभएको थियो। कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश खेतान, क्याम्पस प्रमुख किशोरी राय, डा. राम औतार खेतान, शिक्षक, व्यवस्थापन समितिका सदस्य, नेपाली सेनाका अधिकृत तथा एनसीसी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा प्रमुख सेनानी कार्कीले ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्शलाई आत्मसात गर्दै युवामा अनुशासन, बफादारिता, इमान्दारिता तथा नेतृत्व क्षमताको विकास गराउनु एनसीसीको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँले विपद्का समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने दक्ष र जिम्मेवार युवा तयार पार्न तालिमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कुल १०० दिन सञ्चालन हुने तालिमअन्तर्गत ८९ दिन संस्थागत (इन–हाउस) तालिम र ११ दिन वार्षिक सामूहिक क्याम्प सञ्चालन गरिनेछ। तालिम अवधिमा क्याडेटहरूलाई एफसीबीसी (FCBC), नक्सा अध्ययन, विपद् व्यवस्थापन, ड्रिल, तेक्वान्दो, एरोबिक्स तथा विभिन्न साहसिक गतिविधिसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिनेछ।
कार्यक्रमको अन्त्यमा प्रमुख सेनानी कार्कीले तालिम सञ्चालनमा सहयोग गर्ने कलेज परिवार, शिक्षक, अभिभावक, रक्षा तथा शिक्षा मन्त्रालय, नेपाली सेना र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सम्पूर्ण क्याडेटहरूलाई उच्च मनोबलका साथ तालिममा सहभागी हुन निर्देशन दिँदै सफलताको शुभकामना समेत दिनुभयो।
