
वीरगञ्ज, ०९ भदौ। पर्साको जिराभवानी गाउँपालिका–१ बलुवाबाट प्रहरीले भन्सार छली गरी तस्करीमार्फत ल्याइएको ठूलो परिमाणको कपडासहित दिप्रन्द्र साह कारोबारीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सेढवा, प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट महादेवपट्टीबाट खटिएको संयुक्त टोलीले बलुवा टोलस्थित कासघारी तथा धानबारीबाट १२ पोका कपडासहित दिप्रन्द्र साहलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सीमावर्ती भारतीय बजार भंगहाबाट तस्करहरूले रातको समयमा भन्सार छली गरी नेपाल भित्र्याएको कपडाका पोका गाउँ नजिकैको कासघारी तथा धानबारीमा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको हो ।
बरामद कपडाको अन्दाजी मूल्य १० लाख रुपैयाँ बराबर रहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिए ।
कपडासहित पक्राउ परेका कारोबारी दिप्रन्द्र साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
सीमावर्ती क्षेत्रमा भन्सार छली तथा तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले निगरानी तथा गस्तीलाई तीव्रता दिएको प्रहरीले जनाएको छ ।
