८१ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित पर्सामा यादव पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (१ घण्टा अघि)
  • ५० पटक पढिएको
८१ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित पर्सामा यादव पक्राउ

वीरगञ्ज, १० भदौ। पर्सा प्रहरीले ८१ ग्राम ३७ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

लागूऔषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका–१५ स्थित बाइपास सडकखण्डबाट एक जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार शंकास्पद अवस्थामा पैदल हिँडिरहेका व्यक्तिलाई रोकी चेकजाँच गर्दा उनले लगाएको सेतो पाइन्टको दाहिने खल्तीबाट प्लास्टिकसहित ९४ ग्राम ७२ मिलिग्राम र प्लास्टिकबाहेक ८१ ग्राम ३७ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको थियो।

पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–६, बहुअरी प्रसौनी निवासी ३९ वर्षीय अजय प्रसाद यादव रहेका छन्।

यादवको साथबाट बा.१८ च ९००३ नम्बरको सेतो कारको साँचोसमेत फेला परेको प्रहरीले जनाएको छ। उक्त साँचोका आधारमा वीरगञ्ज महानगरपालिका–८ मा रोकिराखेको सोही नम्बरको सेतो कारसमेत प्रहरीले बरामद गरेको छ।

बरामद लागूऔषधजस्तो देखिने पदार्थ, कार तथा पक्राउ परेका यादवलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस