रक्षाबन्धनको पूर्वसन्ध्यामा बौधीमाई मन्दिरमा पूजाआजा, हजारौँ भक्तजनको भीड

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ११, बिहिबार (२ घण्टा अघि)
  • ५० पटक पढिएको
रक्षाबन्धनको पूर्वसन्ध्यामा बौधीमाई मन्दिरमा पूजाआजा, हजारौँ भक्तजनको भीड

वीरगञ्ज, ११ भदौ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित श्री बौधीमाई मन्दिरमा रक्षाबन्धनको पूर्वसन्ध्यामा परम्परागत विधिअनुसार विशेष पूजाआजा तथा भव्य मेलाको आयोजना गरिएको छ। पूजाआजाका लागि बिहानैदेखि मन्दिर परिसरमा हजारौँ श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।

हरेक वर्ष रक्षाबन्धन पर्वको पूर्वसन्ध्यामा बौधीमाईको विशेष पूजाआजा गर्ने परम्पराअनुसार आज बिहानैदेखि धार्मिक विधि पूरा गरिएको हो। माईको दर्शन तथा पूजाआजाका लागि वीरगञ्जका स्थानीयसँगै आसपासका क्षेत्रबाट समेत ठूलो संख्यामा श्रद्धालुहरू मन्दिर पुगेका छन्।

परापूर्वकालदेखि चलिआएको परम्पराअनुसार बौधीमाई मन्दिरमा बलि दिने प्रथा समेत रहेको छ। भाकल पूरा हुने तथा शक्तिस्वरूपा बौधीमाईको कृपा प्राप्त हुने विश्वासका साथ श्रद्धालुहरूले कुखुरा, हाँस तथा बोका बलि दिने गरेका छन्।

बिहानैदेखि दर्शन तथा बलि चढाउन आउने भक्तजनको संख्या बढेपछि मन्दिर परिसरमा चहलपहल बढेको छ। पूजाआजासँगै मन्दिर आसपास लागेको मेलाले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक वातावरणलाई थप उत्सवमय बनाएको छ।

दर्शनार्थीको अत्यधिक भीडलाई मध्यनजर गर्दै मन्दिर व्यवस्थापन समिति तथा स्थानीय स्वयंसेवकहरूले पूजाआजालाई व्यवस्थित बनाउन आवश्यक प्रबन्ध मिलाएका छन्। साथै, भक्तजनको सहज आवतजावत र शान्ति–सुरक्षा कायम गर्न समेत आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस