रसुवा बाढी : गोसाईंकुण्ड जाने तीर्थयात्री बोकेका करिब ३०० यात्रुवाहक बस बेपत्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ११, बिहिबार (१ घण्टा अघि)
  • ४७ पटक पढिएको
रसुवा बाढी : गोसाईंकुण्ड जाने तीर्थयात्री बोकेका करिब ३०० यात्रुवाहक बस बेपत्ता

वीरगञ्ज, ११ भदौ। रसुवाको भोटेकासीमा आएको बाढी पहिरोका कारण यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। विभिन्न राजमार्गहरू अवरुद्ध हुँदा देशभर करिब एक हजार सवारीसाधन अलपत्र परेका छन् भने तीर्थयात्री बोकेका दर्जनौँ गाडीहरू सम्पर्कविहीन भएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार जनैपूर्णिमाको अवसरमा गोसाईंकुण्ड दर्शनका लागि काठमाडौँबाट रिजर्भमा गएका बसहरू ठुलो संख्यामा सम्पर्कविहीन भएका हुन्।

‘अरनिको यातायात कम्पनीमार्फत रसुवागढी सडकखण्ड हुँदै गोसाईंकुण्ड गएकामात्रै १८ देखि २० वटा यात्रुवाहक बसहरू अहिलेसम्म सम्पर्कविहीन छन्,’ अध्यक्ष सिटौलाले भने, ‘ती बसका ३ जना कर्मचारीमात्र सम्पर्कमा आएको भन्ने अपुष्ट खबर छ, बाँकी यात्रु र गाडीको अवस्था अज्ञात छ।’ उनका अनुसार फसेका यात्रुको अवस्था बुझ्न र उद्धारका लागि बुधबार करिब २५–३० जनाको टोली घटनास्थलतर्फ पठाइएको भए पनि बाटो अवरुद्ध भएका कारण टोली बिचबाटै फर्किन बाध्य भएको थियो।

गोसाईंकुण्ड गएका बसहरूमात्र होइन, अन्य गन्तव्यमा हिँडेका गाडीहरू पनि बेपत्ता भएको महासंघले जनाएको छ। अध्यक्ष सिटौलाका अनुसार पोखराबाट गएको एउटा गाडी बेपत्ता भएकोमा ५ जनामात्र सम्पर्कमा आएका छन् भने अरू यात्रु हराइरहेका छन्। त्यस्तै, गोरखाबाट गएको एक गाडीका ५ जना सम्पर्कमा आएको भनेर गृह मन्त्रालयलाई जानकारी गराइए पनि अहिले उनीहरूसँग फोन सम्पर्क टुटेको छ।

महासंघको प्रारम्भिक तथ्यांक अनुसार बाढीका कारण करिब ३०० यात्रुवाहक बस र अन्य मालवाहक गरी ८०० देखि १००० को हाराहारीमा सवारीसाधन फसेका वा डुबेका छन्। नागढुंगा–मुग्लिन लगायतका मुख्य सडकखण्डहरू बन्द हुँदा यात्रुहरू बीच बाटोमै बिचल्लीमा परेका छन्।

उद्धारका लागि महासंघको आपत्कालीन बैठक

यातायात क्षेत्रमा ठुलो क्षति पुगेको र सयौँ यात्रु अलपत्र परेको भन्दै महासंघले उद्धार तथा राहतमा समन्वय गर्न आज दिउँसो १२ः३० बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा आपत्कालीन बैठक बोलाएको छ।

‘बाटो बन्द हुँदा काठमाडौँ आउन नपाएका र सामाखुसी क्षेत्रबाट उद्धार गरिएका यात्रुहरू हिँडेरै आइरहेका छन्। पासाङ ल्हामु राजमार्ग र टोखा–छहरे सडकखण्डमा जहाँसम्म गाडी जान्छ, त्यहाँसम्म गएर यात्रुको उद्धार गर्न यातायात व्यवसायीहरू तयार छन्,’ सिटौलाले भने, ‘तर, गृह प्रशासनको निर्देशन र विपद् व्यवस्थापनको समन्वय बिना हामीले गाडी पठाउन मिल्दैन। सरकारले उद्धारका लागि सहजीकरण गरिदिनुप¥यो।’ आपत्कालीन बैठकबाट यकिन तथ्यांक संकलन गर्ने र देशभरका यातायात व्यवसायी तथा मजदुरलाई उद्धारमा खटाउने निर्णय गरिने उनले जानकारी दिए।

आफूखुसी गाडी नचलाउन महासंघको अपिल

विपद्को जोखिम उच्च रहेको भन्दै महासंघले जथाभावी गाडी नचलाउन सम्पूर्ण यातायात व्यवसायी र चालकहरूलाई अपिल गरेको छ।
‘कतिपय गाडीहरू जोखिम मोलेर आफूखुसी गन्तव्यतर्फ जान खोजिरहेका छन्, यसले थप दुर्घटना निम्त्याउन सक्छ,’ ‘विपद् प्रभावित वा सम्भावित जोखिम भएका कुनैपनि क्षेत्रमा स्थानीय प्रशासन र यातायात महासंघसँग समन्वय नगरी आफूखुसी गाडी नचलाउन सम्पूर्ण व्यवसायी साथीहरूलाई अध्यक्ष सिटौलाले आग्रह गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस