रसुवा बाढीमा रौतहटका २० मध्ये ६ जना सम्पर्कमा, १४ अझै बेपत्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १४, आईतबार (२ घण्टा अघि)
  • ६४ पटक पढिएको
रसुवा बाढीमा रौतहटका २० मध्ये ६ जना सम्पर्कमा, १४ अझै बेपत्ता

काठमाडौ, १४ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रौतहटका परिवारमा छाएको त्रास अझै हटेको छैन । बाढीपछि सम्पर्कविहीन भएका रौतहटका २० जनामध्ये ६ जना परिवार तथा आफन्तको सम्पर्कमा आए पनि नेपाली सेना र सशस्त्र प्रहरीका हवल्दारसहित १४ जनाको अवस्था अझै अज्ञात रहेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि विभिन्न स्थानमा रहेका रौतहटवासी सम्पर्कविहीन भएका थिए । खोजी तथा उद्धारका क्रममा ६ जना सम्पर्कमा आए पनि बाँकीको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

६ जना परिवारको सम्पर्कमा

सिडियो दिनेस शागर भुषालको अनुसार ईशनाथ नगरपालिका–४ का २४र२५ वर्षीय मोहम्मद एजाज ९शेख मजिद० परिवारको सम्पर्कमा आएका छन् । उनी त्रिशूली बजारस्थित मोटरसाइकल ग्यारेजमा कार्यरत थिए ।

त्यस्तै चन्द्रपुर नगरपालिका–४ की ३७ वर्षीया पवित्रा नेपाल सिलवाल र उनका १५ वर्षीय छोरा सम्राट सिलवाल पनि सम्पर्कमा आएका छन् । उनीहरू गोसाइँकुण्डमा रहेका थिए । दुवै जना ११ गते साँझ क्रमशः श्रीमान् तथा बुवाको सम्पर्कमा आएका हुन् ।

गढीमाई नगरपालिका–७ का ३५ वर्षीया मोहिदा खातुन, १४ वर्षीया सकिना खातुन र १० वर्षीय सलमान अन्सारी पनि मलेखु, धादिङबाट परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् । उनीहरू मलेखु बजार आसपासमा रहेका थिए ।

१४ जनाको अवस्था अझै अज्ञात

बाढीपछि सम्पर्कविहीन रहेका १४ जनामध्ये गरुडा नगरपालिका–१ का ३४ वर्षीय सुधिर कुमार साह र वृन्दावन नगरपालिका–२ का ३४ वर्षीय गौरव कुमार राउत अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए ।

वृन्दावन नगरपालिका–३ पिपराका १२ वर्षीय समिर मन्सुरी वेत्रावती बजार, नुवाकोटमा रहँदै आएका थिए ।

त्यस्तै गौर नगरपालिका–९ का ३५ वर्षीय प्रहरी हवल्दार नवीन कुमार सिंह सशस्त्र प्रहरी पोस्ट मैलुङ, रसुवामा कार्यरत थिए ।

गुजरा नगरपालिका–८ पिपराका ३६ वर्षीय हरेराम खाँ सिन्धु हाइड्रो पावर, रसुवामा कार्यरत थिए ।

राजदेवी नगरपालिका–९ की ५० वर्षीया संगीता देवी त्रिशूली बजारमा मिठाई पसल सञ्चालन गर्दै आएकी थिइन् । उनका २५ वर्षीय छोरा राहुल कुमार पनि सोही पसलमा कार्यरत थिए । आमा–छोरा दुवै बाढीपछि सम्पर्कविहीन छन् ।

चन्द्रपुर नगरपालिका–३ गैँडाटारका २६ वर्षीय विवेक दवाडी ट्रक चालक र सोही स्थानका १८ वर्षीय रणबहादुर तिमल्सिना ट्रक सहचालकका रूपमा कार्यरत थिए । राजदेवी नगरपालिका–२ का ४२ वर्षीय राम विनोद भगत पनि सम्पर्कविहीन छन् ।

यसैगरी मौलापुर नगरपालिका–७ का २३ वर्षीय नेपाली सेनाका सिपाही अभिषेक गुप्ता मैलुङस्थित सुरक्षा पोस्टमा कार्यरत थिए ।

वृन्दावन नगरपालिका–१ की ४६ वर्षीया तेतरी देवी वेत्रावती, नुवाकोटमा बस्दै आएकी थिइन् ।

चन्द्रपुर नगरपालिका–१ का ३७ वर्षीय शेरबहादुर माझी रसुवा हाइड्रो पावरमा मिस्त्रीको काम गर्दै आएका थिए भने गुजरा नगरपालिका–४ का ४० वर्षीय समान्त पौडेल रसुवामा क्रेन चालकका रूपमा कार्यरत थिए ।

परिवारमा बढ्दो चिन्ता

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीपछि सम्पर्कविहीन बनेका आफ्ना आफन्तको खबरको प्रतीक्षामा रौतहटका परिवारहरू दिनरात चिन्तामा छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार सम्पर्कविहीन २० जनामध्ये हालसम्म ६ जना सम्पर्कमा आएका छन् भने १४ जनाको अवस्था अझै अज्ञात छ ।

सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायमार्फत आवश्यक पहल भइरहेको प्रशासनले जनाएको छ । साथै, बेपत्ता व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न प्रशासनले आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस