
वीरगञ्ज, १७ भदौ। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि राहत सामग्री लिएर कोरियन एयर फोर्सको जहाज काठमाडौं आइपुगेको छ ।
बुधबार बिहान उक्त जहाज विपद्पछिको उद्धार तथा राहतका लागि आवश्यक सामग्री र फरेन्सिक ल्याबका उपकरणसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाललाई सहयोग गर्ने क्रममा दक्षिण कोरियाले राहत सामग्रीसँगै उद्धार टोलीसमेत परिचालन गरेको छ ।
कोरियाली उद्धार टोली यसअघि नै नेपाल आएर बाढी प्रभावित क्षेत्रमा रहेका सुरुङमा खोज तथा उद्धार कार्यमा जुटिरहेको छ।
भोटेकोशी–त्रिशूली बाढीपछि नेपालमा राहत सामग्री लिएर विदेशी मुलुकबाट जहाज आउने क्रम जारी छ। हालसम्म भारत, चीन, संयुक्त अरब इमिरेट्स (यूएई) र दक्षिण कोरियाले जहाजमार्फत नेपालमा राहत सामग्री पठाइसकेका छन्।
