
वीरगञ्ज, १८ भदौ। पोखरिया प्रादेशिक अस्पतालमा लामो समयदेखि प्रभावित हुँदै आएको एक्सरे सेवा केही दिन सञ्चालनमा आएपछि पुनः बन्द भएको छ। एक्सरे मेसिन पटक–पटक बिग्रिने र मर्मतपछि पनि छोटो समयमै समस्या दोहोरिने गर्दा उपचारका लागि अस्पताल पुग्ने सेवाग्राही मारमा परेका छन्।
अस्पतालमा एक्सरे सेवा नियमित नहुँदा विपन्न तथा सर्वसाधारण बिरामी महँगो शुल्क तिरेर निजी क्लिनिकमा एक्सरे गराउन बाध्य भएका छन्। स्थानीय सुरेश महतोले अस्पतालमै सस्तो र सहज रूपमा पाइने सेवा बन्द हुँदा आफूहरूलाई थप आर्थिक भार परेको बताए।
स्रोतका अनुसार एक्सरे मेसिन मर्मतमा दक्ष प्राविधिकको सेवा लिनुपर्ने भए पनि पर्याप्त प्राविधिक ज्ञान नभएका मिस्त्रीमार्फत काम गराउँदा समस्या दोहोरिने गरेको छ। यसअघि मर्मतका लागि आएका दक्ष इन्जिनियरको पारिश्रमिकसमेत भुक्तानी नगरिएको र त्यसपछि अन्य व्यक्तिमार्फत मर्मत गराउने गरिएको स्रोतको दाबी छ।
स्थानीयका अनुसार उपकरण खरिद तथा मर्मतका लागि आएको करिब १८ लाख रुपैयाँ एसी, शय्यालगायत अन्य शीर्षकमा खर्च गरिएको छ। तर लामो समयदेखि समस्या देखिएको एक्सरे मेसिन मर्मत गरी सेवा नियमित गर्न प्राथमिकता नदिइएको भन्दै उनीहरूले अस्पताल प्रशासनप्रति असन्तुष्टि जनाएका छन्।
स्थानीयले दक्ष प्राविधिकमार्फत तत्काल मेसिन मर्मत गरी एक्सरे सेवा नियमित सञ्चालन गर्न माग गरेका छन्। साथै, मर्मतमा भएको खर्च, उपकरण खरिद तथा बजेट विनियोजनसम्बन्धी निर्णय प्रक्रियाको पारदर्शी छानबिन गर्नुपर्ने उनीहरूको माग छ।
