हिरासतबाट छुटाउन चलखेलको प्रयास, डीआईजीको निर्देशनपछि ठगी आरोपी अदालतमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १८, बिहिबार (२ घण्टा अघि)
  • ३६ पटक पढिएको
हिरासतबाट छुटाउन चलखेलको प्रयास, डीआईजीको निर्देशनपछि ठगी आरोपी अदालतमा

जनकपुरधाम, १८ भदौ। टिकटकमार्फत फर्निचर बिक्री गर्ने बहानामा रकम ठगी गरेको आरोपमा रौतहट प्रहरीले दुई जनाविरुद्ध अनलाइन ठगीसम्बन्धी मुद्दा दर्ता गरेको छ। मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीको निर्देशनपछि प्रहरीले घटनालाई कानुनी प्रक्रियामा अघि बढाएको हो।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार मुद्दा दर्ता हुनेमा कटहरिया नगरपालिका–३ बिर्ती प्रस्टोका निवासी २० वर्षीय सुरजप्रसाद यादव र सोही ठाउँका २२ वर्षीय भोलिन्द्रकुमार यादव रहेका छन्। जिल्ला अदालत रौतहटबाट दुवै जनालाई अनुसन्धानका लागि ६ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार करिब एक साताअघि सिरहाको नवराजपुर गाउँपालिका–३ का ४५ वर्षीय वैद्यनाथकुमार यादवलाई टिकटकमार्फत अनलाइन फर्निचर बिक्री गर्ने भन्दै सम्पर्क गरिएको थियो। त्यसक्रममा मोबाइलको स्क्रिन सेयर गराई मोबाइल बैंकिङको पासवर्ड प्राप्त गरेर पीडितको खाताबाट ४७ हजार १९८ रुपैयाँ निकालिएको आरोप छ।

खाताबाट रकम निकालिएपछि पीडित यादवले बैंक खातासम्बन्धी विवरणका आधारमा आरोपीहरूको ठेगाना पत्ता लगाएका थिए। मंगलबार उनले इलाका प्रहरी कार्यालय कटहरियामा पुगेर लिखित उजुरी दिएपछि वरिष्ठ प्रहरी नायब निरीक्षक जयप्रकाश साहको नेतृत्वमा खटिएको टोलीले सुरज र भोलिन्द्रलाई पक्राउ गरेको थियो।

रकम फिर्ता गराएर घटना मिलाउने प्रयास

आरोपी पक्राउ परेपछि घटनाले अर्को मोड लिएको प्रहरी स्रोत बताउँछ। स्थानीय केही जनप्रतिनिधि तथा बिचौलियाले पीडितलाई रकम फिर्ता गराइदिने भन्दै जाहेरी नदिन सहमत गराउने प्रयास गरेको आरोप छ।

पीडितलाई रकम फिर्ता गराएर घर पठाउने र आरोपीलाई छुटाउने प्रयास भइरहेको जानकारी पाएपछि घटनाबारे मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलाई जानकारी गराइएको थियो।

घटनाबारे जानकारी पाएपछि डीआईजी अधिकारीले आरोपीलाई सहजै उन्मुक्ति नदिन र कानुनी प्रक्रियामार्फत अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रहरीले जनाएको छ।

डीआईजी अधिकारीले जनकपुर टुडेसंग कुरा गर्दै सानो रकमको ठगी देखिए पनि यसको पछाडि अन्य व्यक्ति वा संगठित समूहको संलग्नता हुनसक्ने भएकाले घटनालाई गम्भीर रूपमा अनुसन्धान गर्न निर्देशन दिएको बताएका थिए।

त्यसपछि प्रहरीले दुवै जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो।

मुद्दा कमजोर हुने कि अनुसन्धानबाट सञ्जाल खुल्ने 

यो घटना केवल ४७ हजार रुपैयाँ ठगीसँग मात्र जोडिएको विषय नभएको स्थानीयस्तरमा चर्चा हुन थालेको छ। विशेषगरी डिजिटल माध्यमबाट हुने ठगीमा पीडितले तत्काल रकम फिर्ता पाएपछि कानुनी प्रक्रिया अघि नबढाउने प्रवृत्तिले यस्ता घटनालाई प्रोत्साहन पुग्नसक्ने जानकारहरूको भनाइ छ।

कटहरिया क्षेत्रमा यसअघि पनि यस्ता प्रकृतिका घटना हुने गरेको स्थानीयहरूको दाबी छ। उनीहरूका अनुसार कतिपय अवस्थामा ‘अदालतको चक्करमा किन पर्नुहुन्छ, पैसा फिर्ता गराइदिन्छौँ’ भन्दै पीडितलाई जाहेरी नदिन दबाब वा आग्रह गर्ने गरिएको गुनासो सुनिने गरेको छ।

तर कुनै आपराधिक घटनामा पीडित र आरोपीबीच रकम लेनदेन गरेर मात्रै विषय टुंग्याउने प्रयास गरिँदा वास्तविक सञ्जालसम्म अनुसन्धान पुग्न नसक्ने जोखिम हुन्छ। अझ डिजिटल ठगीमा एउटै व्यक्तिले मात्र नभई बैंक खाता, मोबाइल नम्बर, डिजिटल वालेट तथा अन्य माध्यम प्रयोग गर्ने समूह संलग्न हुनसक्ने भएकाले घटनाको प्राविधिक अनुसन्धान महत्वपूर्ण मानिन्छ।

‘ठाडो उजुरीसँगै जाहेरी लिन सके सहज हुन्थ्यो’

स्थानीयका अनुसार प्रहरीले आरोपी पक्राउ गर्नुअघि नै पीडितबाट आवश्यक विवरणसहित जाहेरी लिएर कानुनी प्रक्रिया अघि बढाउने अभ्यासलाई प्रभावकारी बनाउन आवश्यक छ।

स्थानीयहरू भन्छन्, ‘ठाडो उजुरी’का आधारमा आरोपी पक्राउ गरेपछि पीडितलाई जाहेरी दिनबाट रोक्ने वा घटना मिलाउने प्रयासका लागि समय मिल्न सक्छ। त्यसैले पीडितको उजुरीसँगै कानुनी प्रक्रिया अगाडि बढाउँदा बिचौलियाको चलखेल रोक्न सहज हुने उनीहरूको तर्क छ।

यद्यपि, ठगीसम्बन्धी मुद्दा दर्ता र अनुसन्धानको कानुनी प्रक्रिया घटनाको प्रकृति, प्रमाण तथा पीडितको जाहेरीलगायत विषयमा निर्भर हुने भएकाले प्रत्येक घटनामा एउटै प्रक्रिया लागू नहुन सक्छ।

हाल पक्राउ परेका दुवै जना इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा छन्। कार्यालय प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार उनीहरूमाथि सोधपुछ तथा थप अनुसन्धान भइरहेको छ।

घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने देखिएकाले सोही कोणबाट अनुसन्धान अघि बढाइएको डीएसपी आचार्यले बताएका छन्।

अब प्रहरी अनुसन्धानले यो घटना दुई व्यक्तिले गरेको सामान्य डिजिटल ठगीमा सीमित थियो वा यसको पछाडि थप व्यक्ति तथा संगठित सञ्जालसमेत सक्रिय थियो भन्ने विषय स्पष्ट पार्नेछ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस