धानखेतमा लुकाएर राखिएको १५१ किलो गाँजा बरामद, तस्करको खोजी जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २१, आईतबार (३ घण्टा अघि)
  • ५० पटक पढिएको
धानखेतमा लुकाएर राखिएको १५१ किलो गाँजा बरामद, तस्करको खोजी जारी

बारा, २१ भदौ। बाराको पचरौता नगरपालिकास्थित धानखेतबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूपदार्थ गाँजा बरामद गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पचरौता नगरपालिका–७ बेनौलीबाट १५१ किलो गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेका अनुसार शनिबार राति करिब १०ः३० बजे बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धानखेतमा खटिएको संयुक्त प्रहरी टोलीले गाँजा बरामद गरेको हो।

प्रहरी चौकी श्रीनगर बैरियाका प्रहरी सहायक निरीक्षक (असई) राजेश सिंह र सशस्त्र प्रहरी बल बीओपी बेनौलीका प्रहरी नायब निरीक्षक (सई) श्यामबहादुर खत्रीको नेतृत्वमा संयुक्त एम्बुस टोली परिचालन गरिएको थियो।

प्रहरीका अनुसार धानखेतको आलीको बाटो हुँदै ८–९ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले पिठ्युँमा बोकेर गाँजा ल्याइरहेका थिए। प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई देख्नेबित्तिकै गाँजाका बोरा खेतमै फालेर अँध्यारोको फाइदा उठाउँदै फरार भएका थिए।

फरार भएका व्यक्तिहरूले छाडेका ९ वटा जुटका बोरा खानतलासी गर्दा कुल १५१ किलो गाँजा फेला परेको डीएसपी घलेले जानकारी दिए। उनका अनुसार प्रत्येक बोरामा करिब १६.७७ किलोका दरले गाँजा रहेको थियो।

बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको प्रहरीले जनाएको छ।

गाँजा बोकेर आएका व्यक्तिहरू फरार भएपछि प्रहरीले उनीहरूको पहिचान तथा खोजी कार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस