सिरहामा ब्राउनसुगरसहित दुई समातिए, मकवानपुरमा १६२ किलो गाँजासहित चालक नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २३, मंगलबार (६ घण्टा अघि)
  • ६० पटक पढिएको
सिरहामा ब्राउनसुगरसहित दुई समातिए, मकवानपुरमा १६२ किलो गाँजासहित चालक नियन्त्रणमा

वीरगञ्ज, २३ भदौ। नेपाल प्रहरीले विभिन्न जिल्लामा सञ्चालन गरेको विशेष अपरेशनका क्रममा ठूलो परिमाणमा अवैध लागूऔषध बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ।

सिरहामा प्रहरीले १६ ग्रामभन्दा बढी ब्राउनसुगरसहित दुई जना युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष ‘स्वीप अपरेशन’ टोलीले सोमबार सिरहा नगरपालिका–२ स्थित छोट्की टोलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा प्रदेश ३–०२–०१३ प ६४१२ नम्बरको मोटरसाइकललाई शङ्कास्पद अवस्थामा रोकी जाँच गर्दा १६ ग्राम १४० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–७ निवासी २४ वर्षीय कमलेश कुमार साफी र सोही स्थानका ३२ वर्षीय मोटरसाइकल चालक सन्तोष यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश बहादुर पालका अनुसार बरामद लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐनअनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यता मकवानपुरको मनहरि गाउँपालिका–९ भाबर क्षेत्रमा प्रहरीले १६२ किलोभन्दा बढी गाँजासहित दुई जना चालकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले भदौ २३ गते राति करिब २:४५ बजे विशेष सूचनाका आधारमा कार र पिकअप गाडी जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअप गाडीलाई जाँचका लागि रोक्न खोज्दा पिकअप भाग्न खोजेको थियो। तत्काल नियन्त्रणमा लिएर गरिएको खानतलासीका क्रममा कारको भित्री सिटमा प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको १३ वटा पोकाबाट १६२ किलो ७९४ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा चितवनको माडी नगरपालिका–५ धोबाहा निवासी ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका–२४ निवासी ४८ वर्षीय टेकबहादुर दोङ पक्राउ परेका छन्।

प्रारम्भिक अनुसन्धानबाट पिकअप गाडीले गाँजा बोकेको कारलाई अगाडि–अगाडि रहेर ‘स्कर्टिङ’ गर्दै सुरक्षित रूपमा गन्तव्यतर्फ लैजान खोजेको खुलेको प्रहरीले जनाएको छ। बरामद गाँजा, दुवै सवारीसाधन तथा पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ।

प्रहरीले लागूऔषध नियन्त्रण तथा ओसारपसार रोक्न देशभर विशेष निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस