
रौतहट, २३ भदौ। रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) नजिकै माछा पालन फर्ममा कार्यरत एक कामदारमाथि छुरा प्रहार भएको छ। घटनापछि पीडित पक्षले दोषीमाथि कानुनी कारबाहीको माग गरे पनि प्रहरीले मेलमिलापका लागि दबाब दिएको आरोप लगाएको छ।
आइतबार राति करिब ९ः३० बजे स्थानीय माछा पालन फर्ममा कार्यरत दिपेश पासवानमाथि धारिलो हतियार प्रहार भएको हो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार रामपुर टोलका २/३ जना युवाले पासवानमाथि छुरा प्रहार गरेका थिए।
घटनामा घाइते पासवानको स्थानीय अस्पतालमा उपचार गरिएको र उपचारपछि उनी घर फर्किएको बताइएको छ।
स्थानीयका अनुसार घटना भएको स्थान सशस्त्र प्रहरी बलको बीओपी रामपुर खापबाट करिब १५० मिटरको दूरीमा पर्छ। सुरक्षा निकायको उपस्थितिकै नजिक हिंसात्मक घटना भए पनि घटनाबारे आफूहरूलाई जानकारी नभएको सशस्त्र प्रहरीले बताएको पीडित पक्षको भनाइ छ।
घटनापछि पीडित पक्षले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरी चौकी रामपुर खापमा लिखित निवेदन दिएको बताइएको छ। तर, कानुनी प्रक्रिया अघि बढाउनुको सट्टा प्रहरीले मेलमिलाप गर्न दबाब दिएको आरोप पीडित पक्षले लगाएको छ।
स्थानीय बासिन्दाले रामपुर क्षेत्रमा केही युवाहरू लामो समयदेखि लागूऔषध सेवन तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। विगतमा समेत यस्ता समूहबाट आपराधिक गतिविधि हुने गरेको स्थानीयको दाबी छ। गत निर्वाचनका क्रममा दुईवटा मोटरसाइकलमा आगजनी भएको घटनामा समेत उनीहरूको संलग्नता रहेको स्थानीयले दाबी गरेका छन्।
विगतका घटनामा प्रभावकारी कानुनी कारबाही हुन नसक्दा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको मनोबल बढेको स्थानीयको आरोप छ। पछिल्लो छुरा प्रहारको घटनाले रामपुर खाप क्षेत्रको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार रातको समयमा मात्रै नभई दिनदहाडै समेत सर्वसाधारणलाई आवतजावत गर्न असहज हुने अवस्था सिर्जना भएको छ। सुरक्षा निकायको उपस्थितिकै क्षेत्रमा आपराधिक घटना हुनु र घटनापछि कानुनी कारबाहीको सट्टा मेलमिलाप गराउन खोजिएको आरोप सार्वजनिक भएपछि स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन्।
पीडितमाथि छुरा प्रहार गर्ने भनिएका व्यक्तिहरूको पहिचान गरी कानुनअनुसार कारबाही गर्नुपर्ने स्थानीयको माग छ। साथै, घटनाको सूचना पाएपछि सुरक्षा निकायले तत्काल के–कस्तो कदम चाल्यो भन्ने विषयमा समेत छानबिन हुनुपर्ने उनीहरूको भनाइ छ।
हालसम्म घटनामा संलग्न भनिएका व्यक्तिमाथि प्रहरीले के कारबाही गरेको छ भन्ने विषयमा सम्बन्धित प्रहरी कार्यालयको आधिकारिक धारणा सार्वजनिक भएको छैन। त्यस्तै, प्रहरीले पीडित पक्षलाई मेलमिलापका लागि दबाब दिएको आरोपबारे पनि सम्बन्धित निकायको प्रतिक्रिया आउन बाँकी छ।
स्थानीयले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा रामपुर खाप क्षेत्रमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन माग गरेका छन्।
