पर्सामा हत्कडीसहित प्रहरी नियन्त्रणबाट काठ तस्करीका आरोपी फरार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २३, मंगलबार (५ घण्टा अघि)
  • ५१ पटक पढिएको
पर्सामा हत्कडीसहित प्रहरी नियन्त्रणबाट काठ तस्करीका आरोपी फरार

पर्सा, २३ भदौ। पर्साको पर्सागढी नगरपालिका–२ हरपुर गोडपसरा जाने जिरात बाटोबाट काठ तस्करीको आरोपमा पक्राउ परेका एक जना व्यक्ति प्रहरीको हत्कडीसहित फरार भएका छन्। बरामद काठ प्रहरी चौकी लैजाने क्रममा प्रहरीको निगरानीबाट उम्किएर उनी फरार भएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान करिब ५ बजे जिरात क्षेत्रमा साइकलमा करिब १० थान काठ ल्याउँदै गरेका केही व्यक्तिलाई प्रहरी चौकी मनवाबाट खटिएको टोलीले नियन्त्रणमा लिन खोजेको थियो। प्रहरी टोलीलाई देखेपछि काठ तस्करीमा संलग्न अन्य व्यक्तिहरू भने काठ र साइकल छाडेर फरार भएका थिए।

प्रहरीले घटनास्थलबाट एक जनालाई काठ र साइकलसहित नियन्त्रणमा लिएको थियो। पक्राउ परेका व्यक्तिलाई हत्कडी लगाएर बरामद काठ नजिकै राखिएको थियो।

बरामद काठ प्रहरी चौकी लैजान ट्याक्टरमा लोड गर्ने क्रममा पक्राउ परेका व्यक्ति प्रहरीको निगरानीबाट उम्किएर हत्कडीसहित फरार भएको प्रहरीको भनाइ छ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी टोली परिचालन गरी फरार व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। सम्भावित स्थानहरूमा खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यस घटनाले पक्राउ परेका व्यक्तिमाथि प्रहरीले अपनाउने सुरक्षा तथा निगरानी व्यवस्थामाथि प्रश्न उठाएको छ। केही महिनाअघि मात्रै प्रहरी चौकी बडनिहारबाट समेत काठ तस्करीको आरोपमा पक्राउ परेका एक व्यक्ति हत्कडीसहित प्रहरी नियन्त्रणबाट फरार भएको घटना सार्वजनिक भएको थियो।

बडनिहारको घटना सेलाउन नपाउँदै मनवा प्रहरी चौकीबाट पनि उस्तै प्रकृतिको घटना दोहोरिएपछि प्रहरीको कार्यशैली र सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ। लगातार हत्कडीसहित पक्राउ परेका व्यक्ति प्रहरीको नियन्त्रणबाट भाग्न सफल हुनुमा सुरक्षा कमजोरी र लापरवाही रहेको स्थानीयको भनाइ छ।

पछिल्लो घटनामा पक्राउ परेका व्यक्ति कसरी प्रहरीको निगरानीबाट उम्किन सफल भए भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। फरार व्यक्तिको खोजीका साथै काठ तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न पनि प्रहरी परिचालन गरिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस