राजेशमान सिंहसहित ७ जना निर्दोष ठहर, मेयरको पुनःबहालीको बाटो खुल्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३०, मंगलबार (१ घण्टा अघि)
  • २७ पटक पढिएको
राजेशमान सिंहसहित ७ जना निर्दोष ठहर, मेयरको पुनःबहालीको बाटो खुल्यो

वीरगञ्ज, ३० भदौ। वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित ७ जनाले विशेष अदालतबाट सफाइ पाएका छन्। अर्काकी छोरीलाई राजेशमान सिंहको आफ्नै छोरीको रूपमा प्रस्तुत गरी झूटा विवरण तथा कागजात प्रयोग गरेर नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार, भदौ २९ गते (१४ सेप्टेम्बर २०२६) सफाइ दिएको हो।

विशेष अदालतले सिंहसहित मुद्दामा प्रतिवादी बनाइएका सबै ७ जनालाई आरोपबाट सफाइ दिएको छ।

सफाइ पाउनेहरूमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नागरिकता लिएकी भनिएकी रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव तथा छानबिन समितिका संयोजक पुस्कर राना र गृह मन्त्रालयका तत्कालीन शाखा अधिकृत पर्शुराम पोखरेल रहेका छन्।

अख्तियारले सिंहसहित सम्बन्धित कर्मचारी तथा पदाधिकारीविरुद्ध झूटा विवरण र कागजात प्रयोग गरी नागरिकता दिलाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दामा सिंहले अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा प्रस्तुत गरी नागरिकता बनाउने प्रक्रियामा भूमिका खेलेको आरोप लगाइएको थियो।

विशेष अदालतको फैसलापछि मेयर सिंहमाथि लागेको निलम्बन फुकुवा भई पुनः पदमा बहाल हुने बाटो खुलेको छ। फैसलासँगै वीरगञ्ज महानगरपालिकाको नेतृत्वमा देखिएको कानुनी अन्योलसमेत अन्त्य हुने अपेक्षा गरिएको छ।

सिंहको पुनःबहालीको बाटो खुलेसँगै उनका समर्थक तथा शुभेच्छुकहरूले फैसलाको स्वागत गरेका छन्। यसअघि पनि सिंहको मुद्दालाई लिएर वीरगञ्जमा राजनीतिक तथा सामाजिक रूपमा व्यापक चासो रहँदै आएको थियो।

विशेष अदालतको फैसलाले मुद्दामा प्रतिवादी बनाइएका सातै जनालाई सफाइ दिएसँगै अब सिंह महानगरपालिकाको नगर प्रमुखको जिम्मेवारीमा फर्कने कानुनी प्रक्रिया अघि बढ्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस