नक्कली भारुको कारोबारमा एकै परिवारका दुई सदस्यसहित ३ जना भारतीय पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३१, बुधबार (१ घण्टा अघि)
  • ५१ पटक पढिएको
नक्कली भारुको कारोबारमा एकै परिवारका दुई सदस्यसहित ३ जना भारतीय पक्राउ

वीरगञ्ज , ३१ भदौ। चाडपर्व नजिकिँदै जाँदा सीमावर्ती क्षेत्रमा नक्कली भारतीय रुपैयाँको कारोबार बढ्न थालेको पाइएको छ । धनुषाको खुला सीमा नाकाबाट नक्कली भारुको कारोबार भइरहेको आशंकामा भारतीय प्रहरीले एकै परिवारका दुई सदस्यसहित तीन जनालाई अनुसन्धानको दायरामा ल्याएको छ ।

भारतीय प्रहरीले धनुषाको बिदेह नगरपालिका–दुहवी निवासी हिरादेवी महासेठलाई सोमबार राति करिब पौने १२ बजे नेपाल–भारत सीमास्थित दुहबी दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ । धनुषा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले दशगजा क्षेत्रबाट एक नेपाली महिलालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे पनि यसबारे औपचारिक जानकारी प्राप्त नभएको बताएका छन् ।

यसअघि हिरादेवीका पति भरत महासेठ र उनका सहयोगी शिवकुमार राउत भारतको बिहारस्थित मधुवनी जिल्लाको बासोपट्टीबाट पक्राउ परेका थिए । भारतीय प्रहरीका अनुसार उनीहरूको साथबाट ५०० दरका नक्कली नोटसहित ५० हजार भारतीय रुपैयाँ बराबरको नक्कली भारु बरामद भएको थियो ।

भरतसँगको अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा हिरादेवीलाई पनि नियन्त्रणमा लिएर सीमापार अवैध कारोबारको सम्भावित सञ्जालबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीको भनाइ छ । उनीहरूको मोबाइल, सम्पर्क सूत्र तथा बैंकिङ कारोबारसमेत परीक्षण भइरहेको बताइएको छ ।

भारतीय पक्षले महासेठ परिवारमाथि नक्कली नोटसँगै काजु, चिनी, मरिच, सुपारी, मदिरालगायतका सामानको सीमापार अवैध ओसारपसारमा संलग्न रहेको आशंकामा समेत अनुसन्धान गरिरहेको जनाएको छ । हिरादेवीका छोरा राजीव महासेठको नाम पनि सीमापार तस्करीसँग जोडिएको आरोप रहे पनि उनी हालसम्म पक्राउ नपरेको भारतीय प्रहरीले जनाएको छ ।

धनुषाको खुला सीमा नाकाबाट नक्कली भारुको कारोबारमा नेपाली नागरिक पक्राउ परेपछि सीमापार अपराधको सञ्जाल र नेपालतर्फको सम्भावित सम्पर्कबारे थप अनुसन्धानको आवश्यकता देखिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस