‘एमालेले ग्यास लुकायो’ भन्ने हल्लाप्रति पोखरेलको प्रतिक्रिया, ‘सरकारले भ्रमको खेती गर्‍यो’

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३१, बुधबार (१ घण्टा अघि)
  • ३९ पटक पढिएको
‘एमालेले ग्यास लुकायो’ भन्ने हल्लाप्रति पोखरेलको प्रतिक्रिया, ‘सरकारले भ्रमको खेती गर्‍यो’

वीरगञ्ज, ३१ भदौ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले खाना पकाउने एलपी ग्यासजस्तो अत्यावश्यक वस्तुको सहज आपूर्ति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

उनले नागरिकलाई ग्यास सहज रूपमा उपलब्ध गराउन नसकेको कमजोरी ढाकछोप गर्न सामाजिक सञ्जालमा भ्रम र फेक न्युज फैलाइएको आरोप लगाएका छन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘नागरिकलाई खाना पकाउने ग्यासजस्तो अतिआवश्यक वस्तुसमेत सहज रूपमा उपलब्ध गराउन नसक्ने, अनि उक्त कमजोरीलाई ढाकछोप गर्न सामाजिक सञ्जालमा भ्रम र फेक न्युजको खेती गर्ने ? यो नाङ्गो बेइमानी भएन र, प्रधानमन्त्रीज्यू ?’

यसअघि एमालेले पनि ग्यास आपूर्तिको विषयमा आफूलाई जोडेर भ्रम फैलाइएको दाबी गरेको थियो। एमालेले दैनिक सामग्रीको आपूर्ति तथा व्यवस्थापन गर्न नसक्ने, कालोबजारी नियन्त्रणमा असफल हुने र जनतालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नसक्ने सरकार आफ्नो कमजोरी ढाकछोप गर्न ‘एमालेले ग्यास लुकायो’ भन्ने भ्रामक प्रचारमा लागेको आरोप लगाएको थियो।

साथै, झुटा सूचना, अफवाह र भ्रम फैलाउनेलाई यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिँदै कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गर्ने बताएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस