
सिरहा, ३१ भदौ। सिरहामा प्रहरीले एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद गरेको छ । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेन्ससमेत नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज १ च १२१३ नम्बरको एम्बुलेन्समा गाँजा ल्याइँदै गरेको सूचना प्राप्त भएको थियो ।
सूचनापछि प्रहरी निरीक्षक सुनिल चौरसियाको कमान्डमा टोली परिचालन गरिएको थियो । प्रहरीले एम्बुलेन्सलाई पछ्याउने क्रममा चालकले प्रहरीको निगरानी थाहा पाएपछि चोहर्वादेखि सिरहासम्म तीन स्थानमा राखिएका प्रहरी बेरिकेट तोडेर भागेको जनाएको छ ।
प्रहरीको थप टोलीले पछ्याउने क्रममा चालकले सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा एम्बुलेन्स छाडेर फरार भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स जाँच गर्दा पाँचवटा बोरा फेला परेका थिए । ती बोराभित्र रहेको पदार्थ तौल गर्दा १०५ किलो गाँजा रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बरामद गाँजा र एम्बुलेन्स प्रहरी कार्यालयमा ल्याइएको छ । फरार चालकको पहिचान तथा खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
