१ अर्ब ३४ करोडको हुण्डी कारोबार आरोपमा मुखिया पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १, बिहिबार (१ घण्टा अघि)
  • ४९ पटक पढिएको
१ अर्ब ३४ करोडको हुण्डी कारोबार आरोपमा मुखिया पक्राउ

धनुषा, १ असोज। व्यक्तिगत तथा व्यावसायिक बैंक खातामार्फत १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा गरेको अनुसन्धानका क्रममा धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजय कुमार मुखियालाई पक्राउ गरेको छ । सीआईबीका अनुसार मुखियालाई हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मुखियालाई २०८३ साल भदौ ३० गते साँझ करिब ५ः२० बजे शहीदनगर नगरपालिका–४ बाट नियन्त्रणमा लिइएको छ । सीआईबीमा विभिन्न समयमा प्राप्त गोप्य सूचनाका आधारमा मलेसियालगायत विभिन्न देशबाट नेपालमा भइरहेको अवैध हुण्डी कारोबारबारे सूक्ष्म अनुसन्धान थालिएको थियो । अनुसन्धानका क्रममा शंकास्पद बैंकिङ कारोबार तथा वित्तीय गतिविधिको विश्लेषण गर्दा विभिन्न व्यक्तिका व्यक्तिगत तथा व्यावसायिक बैंक खातामार्फत ठूलो रकमको कारोबार भएको पाइएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार हालसम्म गरिएको अनुसन्धानबाट १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार भएको देखिएको छ ।

उक्त कारोबारमा मुखियाको संलग्नता देखिएको आधारमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रहरीले घटनामा मुखियासहित अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने जनाएको छ। बैंक खातामार्फत भएको कारोबार, रकमको स्रोत तथा गन्तव्य र त्यसमा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मुखियामाथि ‘हुण्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको छ। अनुसन्धान अघि बढ्दै जाँदा कारोबारमा संलग्न अन्य व्यक्ति तथा समूहको पहिचान हुन सक्ने प्रहरीको भनाइ छ । सीआईबीले अवैध वित्तीय कारोबार तथा आपराधिक गतिविधिबारे सूचना उपलब्ध गराउने नागरिकप्रति आभार व्यक्त गर्दै यस्ता गतिविधिबारे प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ ।

नागरिकबाट प्राप्त सूचना अनुसन्धानका लागि महत्वपूर्ण आधार बन्ने उल्लेख गर्दै प्रहरीले सूचनादाता तथा सूचनाको उच्च गोपनीयता कायम राखिने प्रतिबद्धता जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार हुण्डीमार्फत हुने कारोबार औपचारिक बैंकिङ तथा वैधानिक वित्तीय प्रणालीबाहिर हुने भएकाले यस्ता गतिविधिमाथि प्रहरीले निरन्तर निगरानी र अनुसन्धान गर्दै आएको छ । प्रहरीले अवैध हुण्डी कारोबारले औपचारिक वित्तीय प्रणालीबाहिर ठूलो रकमको कारोबार हुने अवस्था सिर्जना गर्ने भएकाले शंकास्पद वित्तीय गतिविधिमाथि निगरानी बढाइएको जनाएको छ । पक्राउ परेका व्यक्तिमाथिको अनुसन्धानबाट कारोबारको थप सञ्जाल, रकमको प्रवाह र संलग्न अन्य व्यक्तिबारे तथ्य खुल्ने अपेक्षा प्रहरीले गरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस