
वीरगञ्ज, ०२ असोज । पर्साको ग्रामीण क्षेत्रमा पछिल्लो समय बाख्रा तथा खसी चोरीका घटना बढ्न थालेको स्थानीयले बताएका छन्। खसी–बाख्रा किन्ने बहाना बनाएर गाउँघरमा पुग्ने र मौका छोपेर चोरी गर्ने समूह सक्रिय भएको स्थानीयको भनाइ छ।
पछिल्लो घटना सखुवाप्रसौनी गाउँपालिका–४ ओझैया प्रसौनी क्षेत्रमा भएको बताइएको छ। स्थानीय शम्भु साह सोनारका अनुसार प्रसौनी र सोलकपुर जोड्ने मुख्य सडकखण्डमा चरिरहेको उनको खसी दुई जना अपरिचित व्यक्तिले मोटरसाइकलमा राखेर लगेका हुन्।
सोनारले आफ्नै आँखाअगाडि दुई जना मोटरसाइकल सवार व्यक्तिले खसी उठाएर भागेको बताए। उनीहरूलाई देखेपछि आफूले दौडेर समात्ने प्रयास गरे पनि सफल हुन नसकेको उनको भनाइ छ।
चोरी भएको खसी करिब ३० देखि ३५ किलो तौलको र अनुमानित मूल्य करिब २० हजार रुपैयाँ रहेको सोनारले बताए। घटना अचानक भएकाले मोटरसाइकलको नम्बर टिप्न तथा खसी लिएर भागेका व्यक्तिको पहिचान गर्न नसकेको उनले बताएका छन्।
यसरी खुला रूपमा चरिरहेका पशु नै मोटरसाइकलमा राखेर लैजाने घटना हुन थालेपछि स्थानीय पशुपालकमा चिन्ता बढेको छ। स्थानीयले आफ्ना पशुचौपायाको निगरानी बढाउनुका साथै शंकास्पद गतिविधि देखिए तत्काल सम्बन्धित प्रहरी निकायलाई जानकारी गराउनुपर्ने आवश्यकता देखिएको छ।
