क्वेस्ट फार्मास्युटिकल्सले मनायो स्थापनाको २५औँ वार्षिकोत्सव

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (१ घण्टा अघि)
  • ४५ पटक पढिएको
क्वेस्ट फार्मास्युटिकल्सले मनायो स्थापनाको २५औँ वार्षिकोत्सव

वीरगञ्ज, ०४ असोज । नेपालको अग्रणी औषधि उत्पादक कम्पनी क्वेस्ट फार्मास्युटिकल्स प्रा.लि. ले आफ्नो स्थापनाको २५औँ वर्ष अर्थात् रजत जयन्ती तथा श्री विश्वकर्मा पूजाको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको छ।

कम्पनीले जारी गरेको जानकारीअनुसार सन् १९९९ मा स्थापना भई सन् २००० देखि औपचारिक उत्पादन सुरु गरेको क्वेस्ट फार्मास्युटिकल्सले विगत २५ वर्षदेखि गुणस्तरीय, सुरक्षित तथा नवीन औषधि उत्पादनमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

कम्पनीका अनुसार WHO-GMP मापदण्डअनुसार औषधि उत्पादन गर्दै आएको क्वेस्टले नेपालमा पहिलोपटक सफ्ट जेलाटिन क्याप्सुल र बाइलएड ट्याब्लेट जस्ता प्रविधि भित्र्याएर औषधि उद्योग क्षेत्रमा भूमिका निर्वाह गरेको छ। हाल कम्पनीमा ६०० भन्दा बढी कर्मचारी कार्यरत रहेको तथा १०० भन्दा बढी ब्रान्डका जेनेरिक औषधि उत्पादन हुँदै आएको कम्पनीको भनाइ छ।

रजत जयन्तीको अवसरमा कम्पनीले आफ्ना कर्मचारीहरूको योगदानको कदर गर्दै ‘टोकन अफ लभ’ (Token of Love) वितरण गरेको जनाएको छ। साथै कर्मचारीबीच आपसी सद्भाव, उत्साह र मनोरञ्जन अभिवृद्धि गर्ने उद्देश्यले महिला तथा पुरुष कर्मचारीका लागि विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको थियो।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वीरगञ्जस्थित छातापिपराको कारखाना परिसरमा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो। कार्यक्रममा कर्मचारीहरूको उत्साहजनक सहभागिताबाट १०७ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार संकलित रगतले स्थानीय स्तरमा रगतको आवश्यकता पूरा गर्न तथा बिरामीको जीवनरक्षामा सहयोग पुग्नेछ।

क्वेस्ट फार्मास्युटिकल्सले आफ्नो रजत जयन्ती विशेष समारोह भदौ ३ गते (१९ सेप्टेम्बर २०२६) वीरगञ्जस्थित होटल भिस्वामा आयोजना गरेको जनाएको छ। समारोहमा कम्पनीले २५ वर्षको यात्रामा निरन्तर विश्वास र सहयोग पुर्‍याउने ग्राहक, स्वास्थ्यकर्मी, व्यावसायिक साझेदार तथा सम्पूर्ण कर्मचारीप्रति कृतज्ञता व्यक्त गरेको छ।

कम्पनीले आगामी दिनमा पनि अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय गुणस्तरलाई कायम राख्दै नेपालको स्वास्थ्य क्षेत्रमा थप प्रभावकारी योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस